
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।
पाठकले आइतबार सामाजिक सञ्जालमार्फत पार्टीका सबै जिम्मेवारीसहित सदस्यता समेत त्यागेको जानकारी दिएका हुन्। उनले आजकै मितिदेखि राप्रपासँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेको बताएका छन्।
पार्टीलाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति प्रतिबद्ध र सबै वर्ग, समुदाय तथा भूगोलका नागरिकले भरोसा गर्न सक्ने राजनीतिक दल बनाउने सहमतिका आधारमा आफू करिब चार वर्षअघि महामन्त्रीको जिम्मेवारीसहित राप्रपामा आबद्ध भएको उनले उल्लेख गरेका छन्।
तर, आफूले अपेक्षा गरेको दिशामा पार्टी अघि बढ्न नसकेको उनको निष्कर्ष छ। पार्टीको घोषित विचार र व्यवहारबीच ठूलो अन्तर रहेको तथा भ्रष्टाचारविरुद्ध कठोर प्रतिबद्धता जनाउँदै आए पनि त्यसअनुसारको व्यवहारिक प्रतिबद्धता र पारदर्शिता नदेखिएको उनले आरोप लगाएका छन्।
पाठकले पार्टीको केन्द्रीय नेतृत्वमा लामो समयदेखि रहँदै आएको आन्तरिक असमझदारी र गुटगत स्वार्थका कारण समस्या झन् बढ्दै गएको बताएका छन्।
यस्तो परिस्थितिले नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भएको उनको भनाइ छ। आफू र आफूसँगै पार्टीमा जोडिएका नयाँ साथीहरूले समेत विद्यमान अवस्था परिवर्तन गर्न सक्ने सम्भावना नदेखेको उनले बताएका छन्।
पार्टीभित्र सुधार ल्याउने प्रयासका क्रममा आफ्ना पनि केही कमजोरी रहेको स्वीकार गर्दै पाठकले अब राप्रपाको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरेको जानकारी दिएका छन्।









Facebook Comments