काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ।

आइतबार भएको भेटमा डा. कोइरालाले मुलुक, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने जुनसुकै त्याग गर्न आफू तयार रहेको उनले स्पष्ट पारेका थिए।

ad

कोइरालाको भनाइप्रति सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताएका थिए। दुई नेताबीच कांग्रेसभित्र देखिएको असमझदारी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने उपायबारे छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ।

भेटमा पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवादका साथै पार्टीलाई आगामी दिनमा एकताबद्ध रूपमा अघि बढाउने विषयमा कुराकानी भएको थियो।

यसैगरी, भदौ १० गते बुधबार नेपाल–चीन सीमावर्ती रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङलगायत जिल्लामा उत्पन्न अवस्थाबारे पनि दुई नेताबीच छलफल भएको थियो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे समेत उनीहरूले चासो राखेका थिए।

कांग्रेसभित्र आन्तरिक विवाद समाधानका लागि शीर्ष नेताहरूबीच संवाद भइरहेका बेला थापा र कोइरालाबीच भएको भेटलाई पार्टी एकताको पहलका रूपमा हेरिएको छ।