काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएको विवाद अन्त्य गरी एकता कायम गर्न पाँचबुँदे प्रस्ताव अघि सारेका छन्।

सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केसीले पार्टीको वर्तमान संकट समाधानका लागि आफ्ना प्रस्तावमाथि गम्भीरतापूर्वक छलफल गर्न नेतृत्वसँग आग्रह गरेका हुन्।

ad

केसीले विशेष महाधिवेशनको निर्णयलाई आधार मानेर पार्टीका दुवै धारलाई समेट्दै साझा संरचना निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनका प्रस्तावमा केन्द्रीय कार्यसमितिको आकार बढाउनेदेखि महाधिवेशनको नयाँ मिति तोक्नेसम्मका विषय समेटिएका छन्।

उनले अघि सारेका प्रस्ताव यस्ता छन् :

१. दुवै कार्यसम्पादन समिति एकीकृत गर्ने
विशेष महाधिवेशनको परिधिभित्र रहेर यसअघि रहेको कार्यसम्पादन समिति र हालको कार्यसम्पादन समितिलाई एकीकृत गर्नुपर्ने केसीको प्रस्ताव छ।

एकीकृत संरचना सभापतिको नेतृत्वमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

२. केन्द्रीय कार्यसमितिको आकार बढाउने
पार्टी विधानको सम्बन्धित धारा आवश्यकताअनुसार निलम्बन गरी केन्द्रीय कार्यसमितिको संख्या बढाउन सकिने केसीले प्रस्ताव गरेका छन्।

केन्द्रीय सदस्यको संख्या बढाउँदा सम्बन्धित पक्षसँग परामर्श गरेर सहमतिका आधारमा संरचना विस्तार गर्नुपर्ने उनको धारणा छ।

३. निष्पक्ष महाधिवेशनको जिम्मेवारी कार्यसम्पादन समितिलाई
केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई प्रदान गर्नुपर्ने उनले प्रस्ताव गरेका छन्।

महाधिवेशनलाई विवादरहित र स्वीकार्य बनाउन त्यसको तयारी तथा व्यवस्थापनको जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने उनको सुझाव छ।

४. महाधिवेशनका लागि आवश्यक समिति गठन
महाधिवेशन तयारीका लागि आवश्यक निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार सदस्य थपघट गर्ने अधिकार पनि कार्यसम्पादन समितिलाई दिनुपर्ने केसीको प्रस्ताव छ।

यस्ता समितिको संरचना सबै पक्षलाई स्वीकार्य हुने गरी बनाउँदै निष्पक्ष महाधिवेशन हुने प्रत्याभूति दिनुपर्ने उनले बताएका छन्।

५. महाधिवेशनको मिति एक महिना सार्ने
केसीले १५औँ महाधिवेशनको अन्तिम मिति सर्वसम्मत रूपमा एक महिना पछाडि सारेर कात्तिक १७ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेका छन्।

त्यसरी नयाँ मिति तय गरिएपछि कुनै पनि बहानामा महाधिवेशनको कार्यतालिका परिवर्तन नगर्ने गरी सबै पक्षले पूर्ण प्रतिबद्धता जनाउनुपर्ने उनको सुझाव छ।

कांग्रेसभित्र महाधिवेशनको मिति, विशेष महाधिवेशनबाट बनेको संरचना र पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किरहेका बेला केसीले यी पाँच प्रस्ताव अघि सारेका हुन्।

उनले पार्टीलाई थप विभाजनतर्फ जान नदिन सहमतिको आधारमा संगठनात्मक संरचना मिलाएर निर्धारित समयमा निष्पक्ष महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।