
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका विभिन्न निकाय र कर्मचारीतन्त्र अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन्। उनले वर्तमान सरकारको कार्यशैलीका पछिल्ला संकेतसमेत सकारात्मक नदेखिएको बताएका छन्।
शनिबार राजधानीमा आयोजित २३औँ निजामती सेवा दिवसका अवसरमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको ‘निजामती सेवा सम्मान–२०८३’ कार्यक्रममा बोल्दै प्रचण्डले कर्मचारीतन्त्रलाई प्रभावकारी बनाउन त्रासभन्दा प्रोत्साहन र जिम्मेवारीको वातावरण आवश्यक रहेको बताए।
उनका अनुसार कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउने नाममा डर र दबाबको वातावरण सिर्जना गर्दा राज्य सञ्चालन प्रभावकारी हुन सक्दैन। असल नीति र कामका माध्यमबाट कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ।
प्रचण्डले आफूहरू सरकारका सकारात्मक काममा सहयोग गर्ने तर गलत कामको आलोचना र खबरदारी गर्ने नीतिमा रहेको स्पष्ट पारे। अहिले राजनीतिक नेतृत्वदेखि कर्मचारीतन्त्र र राज्यका अन्य निकायसम्मको अवस्था हेर्दा भने आफूले अपेक्षा गरेको जस्तो सकारात्मक संकेत नदेखिएको उनले बताए।
उनले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज र समाजका सचेत नागरिकलाई राष्ट्र तथा जनताप्रति थप जिम्मेवार भएर काम गर्न आग्रह गरे। मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई प्राथमिकतामा राख्दै लोकतन्त्रको संरक्षणमा सबै पक्ष केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
हालैको बाढीपहिरो र त्यसपछिको उद्धार कार्यप्रति पनि प्रचण्डले सरकारको भूमिकामाथि प्रश्न उठाए। विपद्को १० दिनपछि सुरुङबाट दुई जनाको सकुशल उद्धार हुनु सकारात्मक भए पनि उद्धारमा सुरुदेखि नै प्रभावकारी ढंगले काम गर्न सके अझ धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको उनले बताए।
उनले विपद् व्यवस्थापनलाई थप व्यवस्थित, चुस्त र जिम्मेवार बनाउन सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए।
निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने परम्परा पनि संकटका कारण रोक्न नहुने प्रचण्डको धारणा थियो। विपद्का बेला राज्यलाई कर्मचारी र सुरक्षा निकायको भूमिका झनै आवश्यक पर्ने भएकाले उनीहरूको मनोबल बढाउन पुरस्कार तथा सम्मानका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए।
उनले कार्यक्रम निर्धारित मितिमा गर्न नसकिएको भए केही दिन सारेर भए पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुपर्ने उल्लेख गरे। कर्मचारीलाई ‘स्थायी सरकार’को महत्वपूर्ण अंगका रूपमा हेर्दै विपद्को समयमा उनीहरूलाई थप प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो।
प्रचण्डले राज्य सञ्चालनका हरेक तहमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै लोकतन्त्र र स्वतन्त्रताको रक्षा सबैको साझा जिम्मेवारी भएको बताए।









Facebook Comments