काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनर्स्थापना, चिनी आयातको भन्सार छुट र सार्वजनिक बिदासम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णयहरूबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्का मुख्य ७ निर्णयहरू:

ad

बाढी राहत अनुदान स्वीकार: एसियाली विकास बैंक (ADB) बाट भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग स्वीकार गर्ने।

कर तथा महसुलमा सहुलियत: बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायीहरूलाई राहत, कर तथा महसुल छुटलगायतका विशेष आर्थिक सहुलियत उपलब्ध गराउने।

२५ हजार टन चिनी आयात: आगामी चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिकटन चिनी ५० प्रतिशत भन्सार महसुल छुट (१ प्रतिशत भन्सारमा) आयात गर्न स्वीकृति दिने।

उद्धारकर्मीलाई जोखिम भत्ता र राहत: बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता तथा खाजा खर्च उपलब्ध गराउने। साथै, उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार गर्ने र मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने।

सार्वजनिक बिदा घोषणा: २०८३ भदौ २३ गते 'जेनजी सहिद दिवस'को अवसर पारेर देशभर सार्वजनिक बिदा दिने।

राष्ट्रिय शोकको निर्णय: भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने र देशभित्रका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने।

सचिवको बढुवा तथा पदस्थापन: नेपाल प्रशासन सेवातर्फका सचिव नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव पदमा पदस्थापन गर्ने।

सरकारका अनुसार यी निर्णयहरूले बाढी प्रभावित क्षेत्रमा राहत वितरण र पुनर्निर्माणको कामलाई द्रुत गति दिनुका साथै आपूर्ति व्यवस्था सहज बनाउन मद्दत पुर्‍याउनेछ।