
काठमाडौं । प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकमा विभिन्न प्रस्ताव तथा सम्झौता प्रस्तुत भएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक भदौ २४ गते बस्ने जानकारी गराएका हुन्।
बिहीबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयअन्तर्गत सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष पेस गरे।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर पर्ने समुद्री क्षेत्रको जैविक विविधता संरक्षण र दिगो उपयोगसम्बन्धी सम्झौता पनि प्रतिनिधिसभामा प्रस्तुत गरिन्।
विभिन्न कार्यसूची सम्पन्न भएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ २४ गते बस्ने घोषणा गर्दै बिहीबारको बैठक स्थगित गरेका हुन्।
यससँगै प्रतिनिधिसभाको बैठक अब ६ दिनपछि मात्रै बस्नेछ।









Facebook Comments