
काठमाडौं । सरकारले रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाएका नागरिकको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। त्यसको भोलिपल्ट अर्थात् भदौ २३ गते ‘जेनजी शहीद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै घटनाको १३औँ दिन भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण केही नागरिकको मृत्यु भएको छ भने केही अझै बेपत्ता रहेको सरकारले जनाएको छ। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका काम जारी छन्।
मन्त्रिपरिषद्ले भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार अघिल्लो वर्ष भदौ २३ र २४ गते भएका घटनामा ज्यान गुमाएका जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरिएको हो।
सोही अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यससँगै भदौ २२ गते राष्ट्रिय शोक र त्यसको भोलिपल्ट भदौ २३ गते सार्वजनिक बिदा रहनेछ।









Facebook Comments