काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायसँग माग गर्न सरकारलाई आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै झाले जलवायु संकट सिर्जना गर्न नेपालको योगदान नगण्य भए पनि यसको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको बताए। त्यसैले राहत वा सहयोगको अपेक्षामा मात्र सीमित नभई जलवायु क्षतिपूर्तिलाई अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने उनको भनाइ थियो।

ad

उनले प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु जोखिम र त्यसबाट भइरहेको क्षतिको विषय प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे।

झाका अनुसार नेपालले जलवायु परिवर्तनका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्दै आएको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नेभन्दा नेपालले गरेको वातावरणीय योगदान र भोगेको क्षतिको आधारमा क्षतिपूर्तिको दाबी अघि बढाउनुपर्ने समय आएको उनले बताए।

सांसद झाले राष्ट्रिय संकटको अवस्थामा रास्वपा नेतृत्वको सरकारलाई अन्य राजनीतिक दलले दिएको समर्थन, सद्भाव र ऐक्यबद्धता सकारात्मक र अनुकरणीय रहेको बताए।

उनले विपद्को समयमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सुरक्षा निकायलाई आधुनिक उपकरण दिनुपर्ने
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा पनि झाले जोड दिए।

उनका अनुसार बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला तत्काल उद्धार गर्न प्रहरी र अन्य सुरक्षा निकायलाई पर्याप्त जनशक्ति मात्रै नभई आधुनिक प्रविधि र उपकरणसमेत आवश्यक पर्छ।

उनले सुरक्षा निकायलाई आवश्यक उड्डयन क्षमता तथा आधुनिक उद्धार सामग्री उपलब्ध गराएर विपद्को समयमा तत्काल परिचालन गर्न सक्ने अवस्थामा राख्न सरकारसँग माग गरे।