
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकले सामाजिक सञ्जालमार्फत विपद्का पीडितमाथि दुर्व्यवहार र चरित्र हत्या गरिरहेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शाहीले अहिले रास्वपा समर्थकका रूपमा देखिएका ‘नीला साइबर स्याल’ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सक्रिय ‘राता साइबर स्याल’को व्यवहारमा कुनै अन्तर नरहेको टिप्पणी गरे।
उनले विपद्मा हराएका श्रीमान्को खोजी तथा उद्धार गरिदिन सरकारसँग आग्रह गरेकी एक महिलामाथि नै सामाजिक सञ्जालमा गालीगलौज र चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरे।
‘विपद्मा हराएका आफ्ना श्रीमान् खोजिदिन सरकारसँग हारगुहार गरिरहेकी पीडित महिलालाई सहयोग गर्नुको साटो सत्ताधारी पक्षका नीला साइबर स्यालले सामाजिक सञ्जालमा गालीगलौज गर्दै मानसिक यातना दिने गरी हमला गरेका छन्,’ शाहीले भने, ‘केपी ओली आई लभ यू भन्ने राता साइबर स्याल र अहिलेका नीला साइबर स्यालबीच के फरक भयो ? चरित्र र व्यवहार उही छ।’
शाहीले आफूले सरकार वा कुनै दलको विरोध गर्न नभई संकटमा परेका नागरिकको उद्धारका लागि आवाज उठाएको बताए।
‘हामीले मन्त्रीको घरजग्गा बेचेर उद्धार गर भनेका होइनौँ। राहत कोषमा रहेको पैसाबाट पीडितको उद्धार गर भनेका हौँ,’ उनले भने।
सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारमाथि प्रश्न
शाहीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारमा सरकारले पर्याप्त सक्रियता नदेखाएको आरोप पनि लगाए।
उनका अनुसार बाढीका कारण प्रभावित सातवटा जलविद्युत् आयोजनाका सुरुङमध्ये दुईवटामा मात्र खोज तथा उद्धारको काम अघि बढेको छ। बाँकी पाँचवटा सुरुङमा अझै प्रभावकारी रूपमा प्रवेश गरेर खोजी हुन नसकेको उनको दाबी छ।
‘बाढीका कारण सबै सुरुङका मुख बन्द भएका छैनन्। केही सुरुङका मुख खुला छन्,’ शाहीले भने, ‘सुरुङ बन्द भएको भए जुम्लाका लालवीर बुढा, रमेश बुढालगायतका मानिस कसरी जीवित बाहिर आउन सके ? ती सुरुङभित्र प्रवेश गरेर खोज्ने काम नै भएको छैन।’
उनले बाँकी पाँचवटा सुरुङमा तत्काल उद्धार टोली पठाएर खोजी अभियान सञ्चालन गर्न सरकारसँग माग गरे।
शाहीले सुरुङमा फसेका नागरिकको उद्धारका विषयमा सम्बन्धित विज्ञ र इन्जिनियरसँग पर्याप्त छलफल तथा समन्वय हुन नसकेको आरोप पनि लगाए।
कुलमानसँग समयमै छलफल नगरेको आरोप
जलविद्युत् आयोजनाका सुरुङ र त्यहाँको प्राविधिक अवस्थाबारे जानकार नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसँग सरकारले समयमै छलफल नगरेको शाहीको भनाइ छ।
घिसिङले सम्बन्धित जलविद्युत् आयोजनामा लामो समय काम गरेको उल्लेख गर्दै शाहीले बाढी आएको आठ दिनपछि मात्र प्रधानमन्त्री वालेन्द्र शाहले उनीसँग भेट गर्न लागेको बताए।
उनले उद्धारका लागि प्राविधिक ज्ञान र सम्बन्धित क्षेत्रमा अनुभव भएका व्यक्तिसँग तत्काल समन्वय गर्नुपर्नेमा सरकार ढिलो भएको आरोप लगाए।
‘हिलो हटाउने मेसिन तीन दिनदेखि सडकमा अड्किएको छ’
शाहीले सुरुङभित्र पसेको हिलो हटाउन आवश्यक उपकरणसमेत समयमा घटनास्थलमा पुग्न नसकेको भन्दै सरकारको विपद् व्यवस्थापन क्षमतामाथि प्रश्न उठाए।
उनका अनुसार जुम्लाका १०१ जना नागरिक अझै रसुवा र नुवाकोटका विभिन्न सुरुङमा रहेको अवस्था छ। सुरुङभित्र थुप्रिएको हिलो हटाउन आवश्यक मेसिन नभएको प्रधानमन्त्रीले बताएको भन्दै शाहीले सरकारको तयारीबारे प्रश्न गरे।
‘हामीसँग महावीर पुनजस्ता वैज्ञानिक मन्त्री छन्। हिलो तान्न लगिएको मेसिन तीन दिनदेखि सडकमा अड्किएको छ,’ उनले भने, ‘रसुवाको नौकुण्ड गाउँपालिकामा हिलो तान्ने मेसिन अड्किएर बसेको छ। त्यसलाई हेलिकप्टरबाट किन लैजान सकिएन ?’
उनले विपद्का बेला उद्धार सामग्री र उपकरण तत्काल घटनास्थलमा पुर्याउन राज्यले वैकल्पिक तथा आपत्कालीन व्यवस्था गर्नुपर्ने बताए।
‘नागरिकको उद्धार माग्नु अपराध हो भने हजार पटक अपराध गर्न तयार छु’
संकटमा परेका नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गर्नु आफ्नो अधिकार र दायित्व भएको शाहीले बताए।
उनले आफूलाई जतिसुकै आलोचना वा गाली गरिए पनि नागरिकको उद्धारको विषयमा आवाज उठाउन नछाड्ने बताए।
‘यदि नागरिकको उद्धार गरिदिनुस् भन्नु अपराध हो भने देश र जनताका लागि म हजार पटक अपराध गर्न तयार छु,’ शाहीले भने, ‘मैले कसैसँग भिख मागेको होइन। संकटमा परेका नागरिकको उद्धार गरिदिनुस् भनेको हो।’
उनले आफूहरूसँग सेना परिचालन गर्ने वा ठूलो सरकारी बजेट परिचालन गर्ने अधिकार नभएको बताए। उद्धार तथा राहत व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारसँग रहेको उनको भनाइ थियो।
रास्वपाका सभापति रवि लामिछानेसँग समेत सेना परिचालन वा राज्यको स्रोतसाधन परिचालन गर्ने अधिकार नरहेको भन्दै शाहीले त्यसका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताए।
पाँच सुरुङमा प्रभावकारी काम नभएको दाबी
शाहीले रसुवाको एउटा सुरुङमा सांसद बब्लु गुप्ता आफैं रहेको उल्लेख गर्दै त्यहाँको अवस्थाबारे समेत सदनलाई जानकारी गराए।
उनका अनुसार अझै पाँचवटा सुरुङमा प्रभावकारी रूपमा खोज तथा उद्धारको काम अघि बढ्न सकेको छैन। ती स्थानमा तत्काल काम अघि बढाउन उनले सरकारसँग माग गरे।
‘पाँचवटा सुरुङमा केही काम नै भएको छैन। हामीले माग्ने सरकारसँगै हो,’ उनले भने।
शाहीले विगतमा नख्खुमा बाढीमा बगिरहेका नागरिकको उद्धारको माग गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकबाट आफूहरूमाथि आक्रमण भएको आरोप पनि लगाए।
उनले त्यतिबेला एमाले समर्थक ‘रातो साइबर स्याल’ले आफूहरूमाथि आक्रमण गरेको र अहिले रसुवा–नुवाकोटका सुरुङमा फसेका नागरिकका आफन्तले उद्धारको माग गर्दा रास्वपा समर्थक ‘नीला साइबर स्याल’ले सामाजिक सञ्जालबाट आक्रमण गरिरहेको दाबी गरे।
शाहीले राजनीतिक दल र सरकार परिवर्तन भए पनि विपद्का बेला पीडितको आवाज सुन्ने र उनीहरूको उद्धारलाई प्राथमिकता दिने संस्कारमा परिवर्तन आउनुपर्ने बताए।
उनले सामाजिक सञ्जालमा पीडितलाई दोषारोपण वा चरित्र हत्या गर्नुको सट्टा राज्यका निकायलाई उद्धारका लागि दबाब दिनुपर्नेमा जोड दिए।









Facebook Comments