काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा विपद् व्यवस्थापनसँग सम्बन्धित केही विषयमा गलत तथ्य प्रस्तुत गरेको आरोप लगाएका छन्।

बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीले रोस्ट्रमबाट दिएको अभिव्यक्तिमा उद्धारका लागि प्रयोग हुने उपकरण, प्राविधिक जनशक्तिको क्षमता र टनेल उद्धारलगायत विषयमा तथ्यगत त्रुटि रहेको दाबी गरे।

ad

उनका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा उठाइएका ती विषयलाई लिएर संसद्भित्रै प्रश्नसमेत उठिसकेको छ। विपद्को प्रारम्भिक चरणमा सरकारले देखाएको सक्रियता पछिल्ला दिनमा कायम रहन नसकेको भन्दै उनले सरकारको उद्धार तथा राहत व्यवस्थापनप्रति असन्तुष्टि जनाए।

प्रचण्डले समग्र विपद् उद्धार अभियानमा सरकार प्रभावकारी हुन नसकेको टिप्पणीसमेत गरे। सुरुवातमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै जाँदा प्रभावित नागरिकले अपेक्षित सहयोग पाउन नसकेको उनको भनाइ थियो।

सरकारको कार्यशैलीप्रति आलोचना गर्दै उनले प्रधानमन्त्री मुलुकका सबै नागरिकको साझा अभिभावकको भूमिकामा रहनुपर्ने बताए। तर, प्रधानमन्त्रीले राजनीतिक रूपमा सबै पक्षलाई समेटेर सहकार्यको वातावरण निर्माण गर्न नसकेको उनको आरोप छ।

‘प्रधानमन्त्री सबैको साझा अभिभावक बन्नुपर्ने हो,’ प्रचण्डले भने, ‘तर उहाँको व्यवहारमा सबैलाई समेटेर अघि बढ्नेभन्दा कसैको अनुहार नहेरी हिँड्ने प्रवृत्ति देखियो।’

उनले विपद्का बेला राजनीतिक मतभेदभन्दा माथि उठेर राज्यका सबै संयन्त्र र राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।