काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारका केही निर्णय तथा गतिविधिले मुलुकलाई भविष्यमा थप गम्भीर जोखिमतर्फ धकेल्न सक्ने दाबी गरेकी छन्।

मंगलबार भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले रसुवामा आएको बाढी तथा त्यसबाट भएको क्षति गम्भीर भए पनि देशमा विपद्को जोखिम पूर्ण रूपमा समाप्त नभएको बताइन्।

ad

उनले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो मुस्ताङ भ्रमणलाई युरेनियम उत्खननसँग जोड्दै त्यहाँ भएका सम्भावित छलफलप्रति प्रश्न उठाइन्। संवेदनशील प्राकृतिक स्रोतसँग सम्बन्धित विषयमा सरकारले पर्याप्त सावधानी नअपनाए मुलुकले प्राकृतिक विपत्तिभन्दा पनि गम्भीर समस्या सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको दाबी थियो।

‘रसुवामा अहिले देखिएको विपद् ठूलो छ। तर नेपालीका लागि विपद् टरिसकेको छैन,’ झाँक्रीले भनिन्, ‘सरकारका केही गतिविधिले अझ ठूला विपद् निम्त्याउने अवस्था बन्न सक्छ।’

उनले जलवायु परिवर्तनका कारण देखिने ग्लोबल वार्मिङ, अतिवृष्टि र अनावृष्टिजस्ता प्राकृतिक जोखिमसँगै सरकारले अघि बढाएका ठूला डाटा सेन्टर स्थापनाका योजना तथा युरेनियमसँग सम्बन्धित गतिविधिबारे पनि सावधानी अपनाउनुपर्ने धारणा राखिन्।

झाँक्रीले प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण र युरेनियमको प्रसंग जोड्दै सरकारले यस्ता विषयमा पारदर्शिता र पर्याप्त अध्ययनबिना अघि बढे नेपाली नागरिकले गम्भीर परिणाम भोग्नुपर्ने दाबी गरिन्।

यसैगरी, विपद्को समयमा सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि पुगे पनि राजनीतिक नेतृत्वबाट आवश्यक स्तरको समन्वय हुन नसकेको उनले आरोप लगाइन्।

झाँक्रीले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तत्काल उद्धारमा मात्रै सीमित नभई दीर्घकालीन जोखिम पहिचान, पूर्वतयारी र संवेदनशील प्राकृतिक स्रोतसम्बन्धी नीतिमा समेत गम्भीर समीक्षा आवश्यक रहेको बताइन्।