
काठमाडौं । रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारमा अहिलेसम्म ठोस प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सुरुङभित्र फसेकाहरूको अवस्थाबारे उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको भए पनि हालसम्म उद्धारमा उल्लेख्य सफलता हासिल हुन नसकेको जानकारी दिए।
उनका अनुसार नेपाली उद्धार टोलीसँगै भारत र चीनबाट आएका सुरुङ उद्धारका विशेषज्ञहरू पनि घटनास्थलमा परिचालित छन्। अत्यन्त कठिन भौगोलिक अवस्थाका बीच टोलीले दिनरात खोज तथा उद्धारको काम गरिरहेको मन्त्रालयले जनाएको छ।
सुरुङ उद्धारका लागि भारतबाट २४–२४ सदस्यीय दुई टोली नेपाल आएका छन्। चीनबाट नौ सदस्यीय विशेष सुरुङ उद्धार टोलीसमेत नेपाल आएर उद्धार अभियानमा खटिएको छ।
‘सुरुङ उद्धारका लागि हाम्रो टोली पहिलेदेखि नै परिचालित छ। भारत र चीनबाट आएका विशेषज्ञ टोलीले पनि सहयोग गरिरहेका छन्,’ प्रवक्ता पौडेल क्षेत्रीले भने, ‘भौगोलिक कठिनाइका बाबजुद उहाँहरूले निरन्तर काम गरिरहनुभएको छ। तर केही बेरअघिसम्मको जानकारीअनुसार उद्धारमा उल्लेख्य प्रगति भएको सूचना आएको छैन।’
भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा खोज तथा उद्धारको काम गरिरहेको छ। चिनियाँ टोली भने माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजना क्षेत्रमा परिचालित छ।
उद्धार कार्यमा थप अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयाससमेत भइरहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता पौडेल क्षेत्रीका अनुसार दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउने तयारीमा छ।
रसुवामा आएको बाढीको सात दिन बितिसक्दा पनि चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ए र माथिल्लो त्रिशूली–३ बीलगायत जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा फसेकाहरूको उद्धार हुन सकेको छैन।
भौगोलिक कठिनाइ, सुरुङभित्रको अवस्था र बाढीबाट आयोजनाका संरचनामा पुगेको क्षतिका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्। उद्धार टोलीले उपलब्ध प्रविधि र विशेषज्ञ जनशक्तिको प्रयोग गर्दै खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।









Facebook Comments