
काठमाडौं । नेकपा एमालेले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि घोषणा गरेको १ करोड १० लाख रुपैयाँ सरकारी राहत कोषमा जम्मा नगरी पार्टीकै संयन्त्रमार्फत प्रभावित क्षेत्रमा परिचालन गर्ने भएको छ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार पार्टीले राहतका लागि संकलन गर्ने रकम केन्द्रीय राहत कोषमा राखिनेछ। त्यसपछि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी केन्द्र तथा स्थानीय तहमा रकम तथा आवश्यक सहयोग उपलब्ध गराइनेछ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सरकारी कोषमा रकम जम्मा गरिए पनि वास्तविक पीडितसम्म राहत पुग्न नसकेको गुनासो रहेकाले पार्टीले आफ्नै संरचनामार्फत सहयोग परिचालन गर्ने निर्णय गरेको बताए।
उनका अनुसार पार्टीको राहत संयन्त्रले प्रभावित क्षेत्रको आवश्यकता मूल्यांकन गरेर राहत वितरण तथा पुनर्निर्माणका काममा सहयोग पुर्याउनेछ।
यसअघि एमालेले बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरी क्षतिको अवस्था र तत्काल आवश्यक सहयोगबारे प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो।
स्थलगत अध्ययनबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत तथा पुनर्निर्माणमा सहयोग केन्द्रित गर्ने एमालेको तयारी छ।









Facebook Comments