काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि र आन्तरिक समस्या समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने विषयमा नेताहरूसँग छलफल गरेका छन्।

कोइरालाले काठमाडौंको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा पार्टीका विभिन्न तहका नेता तथा सांसदहरूसँग भेटघाट गरी पछिल्लो राजनीतिक अवस्था र कांग्रेसलाई एकढिक्का बनाउने उपायबारे विचारविमर्श गरेका हुन्।

ad

छलफलमा पार्टीका नेता धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मीनेन्द्र रिजाल, किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत र जीवन परियारलगायत सहभागी थिए।

त्यस्तै दिलेन्द्र बडु, डा. गोविन्दराज पोख्रेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भुपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ, हरि अधिकारी, विश्व अर्याल र हुर्मत न्यौपाने पनि छलफलमा सहभागी भएको कोइरालाको सचिवालयले जनाएको छ।

छलफलमा संघीय सांसदहरू गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रीना उप्रेती तथा राष्ट्रियसभा सदस्यहरू वासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायतको सहभागिता रहेको थियो।

कोइरालाले पछिल्लो समय पार्टीभित्रको समस्या समाधान र कांग्रेसमा सहमतिको वातावरण निर्माणका लागि शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्तासमेत गर्दै आएका छन्।

यसैक्रममा उनले भदौ १४ गते डा. शशांक कोइराला र त्यसको भोलिपल्ट अर्थात् भदौ १५ गते सभापति शेरबहादुर देउवालाई भेटेका थिए। ती भेटमा पनि पार्टीभित्र देखिएका समस्या, आपसी मतभेद समाधान र संगठनलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा छलफल भएको थियो।

कोइरालाको पछिल्लो सक्रियतालाई पार्टीभित्र बढ्दै गएको आन्तरिक असन्तुष्टि सम्बोधन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने प्रयासका रूपमा हेरिएको छ।