काठमाडौँ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा देखिएका चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्। नदी किनारमा थुप्रिएको लेदो र प्रभावित क्षेत्रमा पुग्न कठिन अवस्थाका कारण उद्धार प्रभावित भइरहेको सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीलाई बताएका छन्।

सोमबार बिहानदेखि प्रधानमन्त्री शाहले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रमुखसँग छुट्टाछुट्टै छलफल गरी बाढीपछिको उद्धारको अवस्था, चुनौती र आगामी योजनाबारे ब्रिफिङ लिएका हुन्।

ad

प्रधानमन्त्रीले प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग उद्धार अभियानबारे जानकारी लिएका थिए।

सुरक्षा निकायका एक प्रमुखका अनुसार भोटेकोसीको पानीको बहावमा हुने उतारचढाव, प्रभावित क्षेत्रसँगको कमजोर सम्पर्क र सडक तथा अन्य पूर्वाधारमा पुगेको क्षतिले उद्धार टोलीलाई चुनौती थपेको छ।

तर अहिलेको सबैभन्दा ठूलो समस्या नदी किनारमा जमेको बाक्लो लेदो बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्। कतिपय स्थानमा शव देखिए पनि लेदोमा प्रवेश गर्दा उद्धारमा खटिएका सुरक्षाकर्मी आफैँ जोखिममा पर्ने अवस्था रहेको उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

सुरक्षा प्रमुखहरूले लेदो हटाउन आवश्यक प्रविधि र उपकरणबिना नदी किनारमा प्रवेश गर्दा थप मानवीय क्षति हुन सक्ने जोखिमबारे प्रधानमन्त्रीलाई अवगत गराएका छन्।

एक सुरक्षा अधिकारीका अनुसार केही स्थानमा शव देखिए पनि त्यहाँसम्म पुग्न नसक्नुको मुख्य कारण लेदो र अस्थिर भू–भाग हो।

‘हामी सबै सुरक्षा निकाय सामूहिक रूपमा उद्धारमा खटिएको जानकारी गराएका थियौँ। चुनौतीहरू पनि स्पष्ट रूपमा राख्यौँ। उहाँको मुख्य चासो भने उद्धारमा सकेसम्म छिटो प्रतिक्रिया दिनुपर्छ भन्ने थियो,’ ती अधिकारीले भने।

सुरक्षा निकायका अनुसार नदी किनारमा थुप्रिएको लेदो तथा कमजोर भू–बनोटका कारण उत्खनन् गरेर शव निकाल्ने कामसमेत तत्काल सम्भव देखिएको छैन। जोखिम मूल्यांकन नगरी मेसिन वा जनशक्ति परिचालन गर्दा थप क्षति हुन सक्ने उनीहरूको भनाइ छ।

उद्धार अभियानबारे आलोचना हुन थालेको विषयसमेत उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रभावितको आवश्यकता हेरेर उद्धार कार्यमा तत्काल र प्रभावकारी प्रतिक्रिया दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

भदौ १० गते बिहान भोटेकोसीमा आएको बाढीपछि सरकारले उद्धार तथा खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै आएको छ। बेपत्ताको खोजी र तत्काल उद्धारका लागि नेपाली सेनासहित निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजारभन्दा बढी सुरक्षाकर्मी अहिले प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानमा परिचालित छन्।