
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार नुवाकोटको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। विदुर नगरपालिका क्षेत्रमा पुगेका थापासमक्ष स्थानीयले बाढीपछि उद्धार र बेपत्ताको खोजीमा सरकारले अपेक्षित गति दिन नसकेको गुनासो गरेका छन्।
थापाले विदुर नगरपालिका–३ का बाढी प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए। त्यसक्रममा स्थानीयले बाढीमा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा ढिलाइ भएको भन्दै तत्काल खोजी अभियान प्रभावकारी बनाउन आग्रह गरेका थिए।
बाढी प्रभावितको अवस्था बुझ्न सभापति थापा त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार तथा देवीघाटपारिका विभिन्न क्षेत्रमा पुगेका थिए।
उनले रडभूमेश्वरी, पावर हाउस र तुप्चे क्षेत्रका प्रभावितसँग पनि प्रत्यक्ष भेट गरी उनीहरूको समस्या सुने।
थापा दर्शनटार, पिपलडाँडा, कुमलटार र कोलनीलगायत स्थानमा समेत पुगेको उनीसँगै रहेका कांग्रेस नेता विजय ढुंगानाले जानकारी दिए।
स्थानीयसँगको भेटमा थापाले बाढीबाट भएको क्षति, उद्धारको अवस्था र तत्काल आवश्यक राहत तथा पुनर्स्थापनाका विषयमा जानकारी लिएका थिए।









Facebook Comments