
काठमाडौँ। नेकपा एमालेले आगामी असोज पहिलो साता केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक असोज ५ देखि ७ गतेसम्म सञ्चालन हुनेछ।
बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।
निर्वाचनको समीक्षा तथा पार्टीलाई थप सुदृढ बनाउने विषयमा सुझाव संकलन गर्न एमालेले उपाध्यक्ष थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले विभिन्न पक्षसँग छलफल तथा सुझाव संकलन गरेपछि प्रतिवेदन तयार गरेको हो।
कार्यदलका संयोजक थापा र महासचिव शङ्कर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको थियो। केन्द्रीय कमिटी बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गरी पार्टी पुनर्गठन तथा सुदृढीकरणका विषयमा आवश्यक निर्णय लिइने एमालेले जनाएको छ।









Facebook Comments