
काठमाडौँ। नेपाली कांग्रेसले अदालती मुद्दा र कानुनी प्रक्रियाको फैसला कुरेर अलमलमा परेका नेता–कार्यकर्ताहरूलाई १५औँ महाधिवेशनमा जोड्ने उद्देश्यसहित क्रियाशील सदस्यता अद्यावधिकका लागि अन्तिम पटक ५ दिनको अवसर प्रदान गरेको छ।
सर्वोच्च अदालतको आदेशपछि पार्टीको महाधिवेशन सुनिश्चित भएसँगै नेतृत्व तहदेखि तल्लो तहसम्म अन्योलमा रहेका सबै पक्षलाई समेट्न भदौ १५ देखि १९ गतेसम्मका लागि समय थपिएको हो। कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार, कसैलाई पनि समय नपाएर महाधिवेशनबाट वञ्चित हुनुपरेको गुनासो नरहोस् भन्नका खातिर यो अन्तिम मौका दिइएको हो।
"यो पाँच दिन अब अन्तिम पटक हो। अझै पनि अद्यावधिक गर्न छुटेका साथीहरूलाई अद्यावधिक गरेर महाधिवेशनमा जोडिने ढोका खोलौँ भन्ने मनशायका साथ यो निर्णय गरेका हौँ," महामन्त्री पौडेलले भने।
पार्टीभित्र सर्वोच्च अदालतको निर्णय पर्खेर बसेका सिनियर नेताहरू, विशेष परिस्थितिवश छुटेका तथा अरूको लहैलहै र भ्रममा परेर अद्यावधिक नगरेका कार्यकर्ताहरूलाई समान अवसर दिन कांग्रेसले यो लचकता अपनाएको जनाएको छ।
अदालतको पूर्ण इजलासले महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब कुनै पनि बहाना वा कानुनी अड्चन बाँकी नरहेकाले सबैलाई मूलधारमा ल्याउने उद्देश्य पार्टीको छ। कांग्रेसले भदौ १९ गतेसम्मको तोकिएको समयसीमाभित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्य रूपमा अद्यावधिक गरी एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी हुन सम्पूर्ण सदस्यहरूलाई अपिल गरेको छ।









Facebook Comments