काठमाडौं । भोटेकोशी बाढीपछि शव व्यवस्थापनका विषयमा आफ्नो विगतको अनुभव सामाजिक सञ्जालमार्फत साझा गरेका कोशी प्रदेशका सहसचिव कोशहरि निरौलालाई सरकारले रसुवाको टिमुरे क्षेत्रमा खटाएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको काममा केन्द्रित हुने गरी टिमुरे पठाइएको हो।

ad

निरौला हाल कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवका रूपमा कार्यरत थिए। उनले शनिबार सामाजिक सञ्जालमा कोभिड–१९ महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा मृतकको शव व्यवस्थापनमा आफूले भोगेको अनुभव र अपनाइएको प्रक्रियाबारे लेखेका थिए।

उक्त विवरण सार्वजनिक गरेको करिब २४ घण्टा नबित्दै आफूलाई टिमुरेमा खटाइएको जानकारी पाएको निरौलाले बताएका छन्।

‘कोभिडका समयमा मोरङको सीडीओ हुँदा गरिएको अनुभव लेखेको हुँ। यससँगै मलाई टिमुरे पठाएको खबर पाएको छु,’ निरौलाले भने, ‘मैले त आफ्नो अनुभव मात्र लेखेको थिएँ। अब किन मलाई त्यहाँ सरुवा गरियो थाहा छैन।’

उनले आफूलाई बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिएर पठाइएको भए पनि त्यहाँको अवस्थाबारे विस्तृत जानकारी आफूलाई नभएको बताए।

सुझाव दिएकै आधारमा सरुवा गर्नु उचित होइन : पराजुली
निरौलाको सरुवालाई लिएर विराटनगरका पूर्वमेयर तथा कोशी प्रदेशका पूर्वमन्त्री भीम पराजुलीले असन्तुष्टि जनाएका छन्। विपद्का बेला कर्मचारीले विगतको अनुभवका आधारमा सरकारलाई सुझाव दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

पराजुलीले पीडित परिवारको संवेदना र धार्मिक तथा सांस्कृतिक मान्यतालाई ध्यानमा राखेर शव व्यवस्थापन गर्नुपर्ने बताए।

‘पीडित परिवार आफैँ पीडामा रहेका हुन्छन्। यस्तो बेला राज्यको दायित्व कर्मचारीलाई कारबाही गर्ने वा प्रतिशोध साध्ने होइन, एकताबद्ध भएर व्यवस्थापनमा लाग्ने हो,’ उनले भने।

सामाजिक सञ्जालमा सुझाव वा अनुभव साझा गरेकै आधारमा कर्मचारीलाई सरुवा गरिएमा त्यसले अन्य कर्मचारीमा समेत आफ्नो धारणा सार्वजनिक गर्न डर पैदा गर्न सक्ने पराजुलीको भनाइ छ।

निरौलाले हटाए सामाजिक सञ्जालको पोस्ट
सहसचिव निरौलाले शव व्यवस्थापनसम्बन्धी आफ्नो फेसबुक पोस्ट भने हटाइसकेका छन्।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा भेटिएका तथा पहिचान खुल्न नसकेका शवको व्यवस्थापन अहिले सरकारका लागि प्रमुख चुनौतीमध्ये एक बनेको छ।

यसै सन्दर्भमा निरौलालाई टिमुरे क्षेत्रमा खटाएर शव व्यवस्थापनसम्बन्धी काममा परिचालन गरिएको हो।