काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग गुनासो गरेका छन्।

आइतबार रास्वपाको केन्द्रीय कार्यालयमा सभापति लामिछानेलाई भेट्दै मुख्यमन्त्री थापाले प्रधानमन्त्री वालेन्द्र शाहले प्रदेश सरकारसँग आवश्यक समन्वय नगरेको बताएका हुन्।

ad

भेटका क्रममा मुख्यमन्त्री थापाले विपद्का बेला तीन तहका सरकारबीच समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले उद्धार तथा राहतका काम अघि बढाइरहेको बताए।

उनले प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दासमेत प्रदेश सरकारले त्यसबारे जानकारी नपाएको भन्दै असन्तुष्टि जनाए।

बाढी प्रभावितका लागि तीन तहका सरकारमध्ये कुन तहले कुन जिम्मेवारी सम्हाल्ने भन्ने स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको मुख्यमन्त्री थापाको भनाइ थियो।

उनका अनुसार प्रभावित क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको छ। पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा हुने र त्यसभन्दा माथिल्लो क्षेत्रमा पुर्‍याउन असहज हुने अवस्था रहेको उनले बताए।

जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले खोला किनारमा रहेका बस्ती स्थानान्तरणका लागि तीन तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री थापाले बताए।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्का समयमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।

उनले स्थानीय र संघीय सरकारबीच समन्वय गराउने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने धारणा राख्दै संघीय सरकारका तर्फबाट आवश्यक सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाए।