
काठमाडौं । नेपाली कांग्रेसले बाढी तथा विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले उक्त रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले सरकारले राहत तथा उद्धारका कार्यलाई थप तीव्रता दिनुपर्नेमा जोड दिएको छ। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रभावकारी प्रयास गर्नुपर्ने र खोज तथा उद्धारलाई परिणाममुखी बनाउनुपर्ने कांग्रेसको धारणा छ।
प्रवक्ता चालिसेले उद्धार तथा राहतका लागि सरकारको क्षमता अपुग भए अन्तर्राष्ट्रियस्तरका विज्ञ तथा आवश्यक सहयोग लिनुपर्ने बताए।
उनले बाढीपीडितसम्म तत्काल र प्रभावकारी रूपमा राहत पुर्याउन स्थानीय तहलाई जिम्मेवारी दिने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए। राहत वितरणमा ढिलाइ हुन नदिन स्थानीय तहसँग समन्वय गरी काम गर्नुपर्ने उनको भनाइ छ।
रसुवा र नुवाकोटमा बाढीका कारण ठूलो क्षति भएको उल्लेख गर्दै चालिसेले पर्यटन तथा व्यावसायिक सिलसिलामा ती जिल्लामा पुगेका अन्य जिल्लाका नागरिकसमेत प्रभावित भएको बताए। उनीहरूको खोजी, उद्धार र सुरक्षामा समेत विशेष ध्यान दिन उनले सरकारसँग आग्रह गरे।









Facebook Comments