काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गृहसचिव राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा पठाउने निर्णय गरेको छ।

ad

श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने तयारीमा छन्। अवकाशको केही दिनअघि सरकारले उनलाई गृहसचिवको जिम्मेवारीबाट हटाएर अतिरिक्त समूहमा राखेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अब शर्माले सम्हाल्नेछन्। रक्षा मन्त्रालयमा सचिवका रूपमा कार्यरत शर्मा प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका अधिकारी हुन्।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै गृह मन्त्रालयको प्रशासनिक नेतृत्वमा परिवर्तन भएको छ।