
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बुधबार पहिलोपटक प्रतिनिधिसभामा सांसदहरूको प्रत्यक्ष प्रश्नको सामना गर्दैछन्। सरकारको कामकारबाहीदेखि सीमा विवाद र राष्ट्रियतासम्मका विषयमा सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग्ने भएका छन्।
प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकको पहिलो घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याइएको छ। संसद् सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्षका ११ सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न गर्नेछन्।
प्रधानमन्त्रीसँग प्रश्न गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह, नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न राख्नेछन्।
सचिवालयले सांसदहरूले दर्ता गराएका प्रश्नको विषय भने कार्यक्रम सुरु हुनुअघि सार्वजनिक नगर्ने व्यवस्था गरेको छ। यसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई प्रत्यक्ष र प्रभावकारी बनाउने उद्देश्य राखिएको सचिवालयका अधिकारीहरूको भनाइ छ।
तर, स्रोतका अनुसार सांसदहरूले सरकारको कार्यशैली र समसामयिक राजनीतिक विषयसँगै सीमा तथा राष्ट्रियताका विषयलाई पनि प्रश्नमा समेटेका छन्। प्रधानमन्त्री शाहका सीमा मिचिएको सम्बन्धमा आएका विवादित अभिव्यक्तिबारे समेत प्रश्न उठ्न सक्ने स्रोतको दाबी छ।
प्रधानमन्त्रीले संसद्मा सांसदको प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा छ। नियमावलीले प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ।
यसअघि प्रधानमन्त्री शाहले लामो समयसम्म संसद्मा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ नदिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विपक्षीको निरन्तर दबाबपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि रुलिङ गर्दै बुधबारको बैठकमा कार्यक्रम राखेका हुन्।
नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि प्रश्नको विषय लिखित रूपमा सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही प्रक्रियाअनुसार ११ सांसदले प्रश्न दर्ता गराएका हुन्।
यसअघि प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ सरकारका नीति तथा कार्यक्रम, विधेयक र समसामयिक विषयमा केन्द्रित हुने गरेको भए पनि बुधबारको प्रश्नोत्तर प्रधानमन्त्री शाहका लागि प्रत्यक्ष रूपमा सांसदको प्रश्न सामना गर्ने पहिलो अवसर बन्नेछ। त्यसैले संसद्मा प्रधानमन्त्रीको जवाफसँगै सरकारको कार्यशैली र प्राथमिकताबारे उनको धारणा परीक्षण हुने अपेक्षा गरिएको छ।









Facebook Comments