इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति तीखो व्यंग्य गर्दै उनलाई ‘एम्बुलेन्सको ड्राइभर’को संज्ञा दिएका छन्।

इलाम नगरपालिका–५ बरबोटेमा आयोजित पार्टीको जनहातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले जनताले ठूलो विश्वासका साथ देशको नेतृत्व शाहलाई सुम्पिए पनि शासन सञ्चालनमा विधि, कानुन र अनुशासनको पालना नभएको आरोप लगाए।

ad

उनले आफ्नो टिप्पणीलाई ट्राफिक नियमसँग जोड्दै प्रधानमन्त्री शाहको कार्यशैलीको आलोचना गरे। उनका अनुसार जनताले देशको ‘चाबी’ बालेनलाई दिए पनि त्यसलाई चलाउने शैली भने नियम नमान्ने एम्बुलेन्स चालकको जस्तो देखिएको छ।

किरातीले भने, ‘नागरिकले देशकै चाबी बालेनको हातमा दिए। तर ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ। न ट्राफिक लाइट हेर्ने, न अर्काको लेनको ख्याल गर्ने, जहाँ पायो त्यहीँ छिर्ने र जता मन लाग्यो त्यतै पार्किङ गर्ने काम भइरहेको छ।’

उनको यो अभिव्यक्ति प्रधानमन्त्री शाहको पछिल्ला गतिविधि र ट्राफिक नियम उल्लंघनसम्बन्धी सार्वजनिक आलोचनातर्फ लक्षित थियो। किरातीले निर्वाचित नेतृत्वले जनमतलाई आफ्नो स्वेच्छाचारिताको आधार बनाउन नहुने भन्दै राज्यका स्थापित कानुन र प्रक्रियाको पालना अनिवार्य रहेको बताए।

‘अब देशको चाबी श्रम संस्कृति पार्टीलाई’

किरातीले आगामी प्रदेश तथा स्थानीय निर्वाचनलाई लक्षित गर्दै जनताले श्रम संस्कृति पार्टीलाई नेतृत्व गर्ने अवसर दिनुपर्ने बताए।

उनले सरकार जनतामाथि शासन गर्ने संयन्त्र नभई नागरिकको सेवक बन्नुपर्ने धारणा राखे। पुराना राजनीतिक दलका नेताहरूको अहंकार, आपसी विवाद र सत्ताकेन्द्रित संघर्षले मुलुकलाई पछाडि धकेलेको उनको आरोप थियो।

आफ्ना पार्टी अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा देशलाई निकास दिन आफू दोस्रो भूमिकामा रहेर पनि निःस्वार्थ रूपमा काम गर्न तयार रहेको किरातीले बताए।

उनले विगतमा प्रचण्ड–ओली तथा देउवा–गगनबीच देखिएको जस्तो नेतृत्वबीचको टकराव श्रम संस्कृति पार्टीमा नहुने दाबी गरे। व्यक्तिगत रिस, ईर्ष्या र स्वार्थलाई पार्टी सञ्चालनको आधार नबनाउने उनको भनाइ थियो।

‘दशरथ माझीको जस्तो अठोट चाहिन्छ’

किरातीले पार्टीका नेता–कार्यकर्तालाई दीर्घकालीन लक्ष्यसहित काम गर्न आग्रह गरे। भारतका दशरथ माझीले २२ वर्ष लगाएर पहाड काटी बाटो निर्माण गरेको उदाहरण दिँदै उनले राजनीतिक परिवर्तनका लागि पनि त्यस्तै धैर्य, निष्ठा र अठोट आवश्यक रहेको बताए।