
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्काले आफूले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याएको विषयलाई ‘अदालत सेटिङ’सँग जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।
खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत कांग्रेसको आन्तरिक जीवनमा भएका आफूले अन्यायपूर्ण ठानेका घटनाविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च पुगेको स्पष्ट पारेका हुन्। उनका अनुसार उनले उत्प्रेषण, प्रतिषेध र परमादेशको माग गर्दै अन्तरिम आदेशसमेत मागेर सर्वोच्चमा रिट दर्ता गराएका छन्।
तर, रिट दर्ता गरेको विषयलाई लिएर आफ्नो नामसमेत जोडेर ‘अदालत सेटिङ’ भएको प्रचार गरिएको भन्दै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। यस्तो प्रचारले स्वतन्त्र न्यायपालिकाप्रति अविश्वास सिर्जना गर्ने र अदालतको गरिमा कमजोर पार्ने उद्देश्य बोकेको उनको आरोप छ।
खड्काले आफू न्याय र स्वतन्त्रताको पक्षमा उभिएको दाबी गर्दै अदालतप्रति आफ्नो विश्वास र भरोसा रहेको बताएका छन्। उनले अदालतको गरिमा घटाउने उद्देश्यले भइरहेको प्रचारप्रति खेद व्यक्त गर्दै सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई तथ्यमा आधारित भएर विषय उठाउन आग्रह गरेका छन्।
कसरी सुरु भयो ‘अदालत सेटिङ’को चर्चा?
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले वैधानिकता पाएपछि त्यसविरुद्ध देउवा–खड्का पक्षले कानुनी बाटो रोजेको थियो। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो।
गत वैशाख ४ गते न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो।
यही पृष्ठभूमिमा कांग्रेसभित्र अदालतमा मुद्दा लैजाने विषय र न्यायिक प्रक्रियामाथि विभिन्न टिप्पणी भइरहेका बेला ‘अदालत सेटिङ’को चर्चा पनि सतहमा आएको हो। खड्काले भने त्यस्तो प्रचारलाई आधारहीन र नियोजित कुप्रचारका रूपमा व्याख्या गरेका छन्।
यसैबीच कांग्रेस केन्द्रीय सदस्य कुसुम थापाले सामाजिक सञ्जालमार्फत खड्कालाई लक्षित गर्दै अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको भन्दै नहिँड्न चेतावनी दिएकी छन्। उनको यस्तो अभिव्यक्तिले पनि कांग्रेसभित्रको पछिल्लो विवादलाई थप चर्चामा ल्याएको छ।
खड्काको भनाइअनुसार, अदालतमा न्याय माग्न जानुलाई नै ‘सेटिङ’सँग जोडेर हेर्नु स्वतन्त्र न्यायपालिकाको विश्वसनीयतामाथि प्रश्न उठाउने प्रयास हो। उनले आफूले कानुनी प्रक्रियामार्फत न्याय खोजिरहेको र अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन्।









Facebook Comments