काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार तथा बलात्कारपछि हत्या जस्ता जघन्य अपराधमा दोषी ठहर हुनेलाई मृत्युदण्डसम्मको सजाय हुने गरी कानुन संशोधन गर्नुपर्ने माग गरेका छन्।

बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सांसदहरूले सदनमा आवाज उठाउँदै विद्यमान कानुनी व्यवस्थाले मात्रै यस्ता अपराध रोक्न नसक्ने बताएका हुन्। उनीहरूले जघन्य अपराधमा संलग्न हुनेलाई कडा कानुनी सजायको व्यवस्था गर्न सरकारसँग माग गरे।

ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले संविधानले मृत्युदण्ड निषेध गरे पनि महिला तथा बालिकामाथि निरन्तर भइरहेका गम्भीर अपराधलाई केवल संवैधानिक प्रावधानको अक्षरमा सीमित भएर हेर्न नहुने तर्क गरिन्।

उनले अपराधको प्रकृति र गम्भीरताअनुसार सजाय फरक हुनुपर्ने बताउँदै सामान्य अपराध र बलात्कारजस्ता जघन्य अपराधलाई एउटै दृष्टिले हेर्न नहुनेमा जोड दिइन्। प्रमाणित बलात्कारी र गम्भीर महिला हिंसामा संलग्नलाई सजायको भय हुने गरी कानुन बनाउनुपर्ने उनको माग थियो।

कुँवरले नेपाली समाजमा महिलाको अवस्थाबारे पनि प्रश्न उठाइन्। जन्मिनुअघि नै छोरी भएकै कारणदेखि जीवनका विभिन्न चरणमा महिलाले हिंसा र विभेद भोग्नुपरेको उनले बताइन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले बलात्कार तथा बलात्कारपछि हत्या गर्ने अपराधीलाई कुनै पनि अवस्थामा उन्मुक्ति दिन नहुने बताइन्। निर्मला पन्तदेखि गरिमा चौधरीसम्मका पीडित परिवार न्यायको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले भाषणभन्दा कानुनी सुधार आवश्यक रहेको बताइन्।

खातुनले संविधान र मानवअधिकारका प्रचलित मान्यतासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न सकिने गरी कानुन परिमार्जन गर्नुपर्ने माग गरिन्।

रास्वपाका सांसद सोम शर्माले बलात्कार गर्नेलाई मात्र नभई यस्तो अपराध गर्ने सोचसमेत पैदा नहुने गरी कानुनमा कडा व्यवस्था गर्नुपर्ने बताए।

उनले प्रतिनिधिसभाका सबै सांसद मिलेर बलात्कारजस्तो अपराधविरुद्ध कठोर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।

सांसदहरूको अभिव्यक्तिमा बलात्कार तथा महिला हिंसाका घटनामा दोषीलाई कडा सजाय दिनुपर्ने विषयमा समान धारणा देखिए पनि मृत्युदण्डसम्बन्धी व्यवस्था नेपालको संविधानसँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो व्यवस्था गर्न संवैधानिक तथा कानुनी संशोधन आवश्यक पर्ने देखिन्छ।