काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रशासनलाई प्रभावकारी बनाउन प्रविधिको विकाससँगै नैतिकता, अनुशासन र इमान्दारीलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताएका छन्।

काठमाडौंमा सोमबार आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृत्रिम बुद्धिमत्ता, डिजिटल शासन र विश्वव्यापीकरणका कारण प्रशासनिक प्रणाली तीव्र गतिमा परिवर्तन भइरहेको बताए। बदलिँदो प्रविधिसँगै प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासमा समेत आवश्यक सुधार गर्नुपर्नेमा उनले जोड दिए।

ad

प्रविधिको प्रयोगले प्रशासनिक क्षमता बढाउन सहयोग गरे पनि मानवीय मूल्यको विकल्प बन्न नसक्ने राष्ट्रपति पौडेलले बताए। प्रविधि र क्षमता बाह्य स्रोतबाट हासिल गर्न सकिए पनि आचरण, नैतिकता र इमान्दारी व्यक्तिको आफ्नै चरित्र र अन्तःकरणसँग जोडिएको उनले उल्लेख गरे।

इमान्दारी, अनुशासन, जिम्मेवारीबोध, मानवता तथा सार्वजनिक हितप्रतिको प्रतिबद्धता जस्ता मूल्य समयसँगै पुराना नहुने राष्ट्रपति पौडेलले बताए। आधुनिक प्रशासनको मूल आधार नै नैतिक र जिम्मेवार नेतृत्व भएको उल्लेख गर्दै उनले बदलिँदो समाजमा यस्ता मूल्यको आवश्यकता अझ बढेको धारणा राखे।

राष्ट्रपति पौडेलले प्रशासनिक क्षेत्रमा प्रविधिको उपयोग बढ्दै गए पनि सार्वजनिक सेवामा नागरिकको विश्वास कायम राख्न नैतिक आचरण र जवाफदेहिता अनिवार्य रहेको बताए।

उनले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल जनप्रशासन संघले सुशासन, पारदर्शिता, जवाफदेहिता तथा सार्वजनिक सेवाको गुणस्तर सुधारमा आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

समारोहमा प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको थियो।