
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क राईले प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्। प्रधानमन्त्रीको भ्रमणलाई ‘निजी’ भनिए पनि प्रधानमन्त्रीको सुरक्षा तथा सरकारी संयन्त्रसँग जोडिने भएकाले त्यसबारे सदनलाई जानकारी दिनुपर्ने उनको भनाइ छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको निजी भ्रमण हुने वा नहुनेबारे प्रश्न उठाउँदै भ्रमणको उद्देश्य स्पष्ट पार्न माग गरे।
प्रधानमन्त्री सरकारी सुरक्षा संयन्त्रसहित मुस्ताङ पुगेको उल्लेख गर्दै उनले मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई भ्रमण गर्नु उचित नभएको बताए। प्रधानमन्त्रीको भ्रमणको उद्देश्यबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने उनले बताए।
राईले मुलुकका विभिन्न क्षेत्रमा विपद्का घटना भइरहेका बेला सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानले खेतीयोग्य जमिन नष्ट भइरहेको विषय पनि उठाए। कोशीको कटान नियन्त्रणका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनले बताए।
उनले कोशी ब्यारेजका ५६ वटा ढोका समयमै नखोलिँदा बाढीको जोखिम थपिने गरेको दाबी गरे। बाढीका बेला ब्यारेजमा पानीको उचित व्यवस्थापन हुन नसक्दा हरेक वर्ष सप्तकोशी आसपासका खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको भन्दै उनले सम्बन्धित पक्षसँग समन्वय गरी तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।
राईले कानुनी व्यवस्थाको कमजोरीका कारण अपराधमा संलग्न व्यक्तिहरूले उन्मुक्ति पाउने अवस्था अन्त्य गर्नुपर्ने बताए। विशेषगरी नाबालिकामाथि हुने बलात्कार तथा हत्याका घटनालाई गम्भीर रूपमा लिएर कानुन थप स्पष्ट र प्रभावकारी बनाउनुपर्ने उनले माग गरे।
बलात्कारमा दोषी ठहर भएकालाई कडा सजायको व्यवस्था हुनुपर्नेमा जोड दिँदै उनले अपराध नियन्त्रण र पीडितलाई न्याय दिलाउन राज्य संयन्त्र थप जिम्मेवार बन्नुपर्ने बताए।









Facebook Comments