
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार भएको मत विभाजनमा कार्कीको पक्षमा ५७ मत परेको हो।
प्रदेशसभाका सभामुख अम्मरबहादुर विष्टले मत परिणाम सार्वजनिक गर्दै मुख्यमन्त्रीको पक्षमा ५७ र विपक्षमा २२ मत परेको जानकारी दिए।
कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। दुवै दलका सबै सदस्यले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि कार्कीले ५७ मत पाएका हुन्।
यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरे। कांग्रेसका २९ प्रदेशसभा सदस्य रहे पनि विपक्षमा २२ मत मात्र परेको छ।
कोशी प्रदेशसभामा राप्रपाका सभामुखसहित पाँच सदस्य छन्। उनीहरूले विश्वासको मतसम्बन्धी मतदानमा सहभागिता जनाएनन्। जनता समाजवादी पार्टीकी एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु भने बैठकमा उपस्थित भइनन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन्। सोमबारको बैठकमा भने ८३ प्रदेशसभा सदस्य उपस्थित थिए।









Facebook Comments