
काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमीलाई एकै थलोमा जुटाउँदै आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
महिला उद्यमशीलताको विस्तार, आर्थिक सशक्तीकरण र मुलुकको आर्थिक रूपान्तरणमा महिला उद्यमीको योगदान बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ। सानेपामा हुने सम्मेलन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
नीति प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार सम्मेलनमा महिला उद्यमीका अनुभव, चुनौती र व्यवसाय विस्तारका सम्भावनाबारे छलफल हुनेछ।
सम्मेलनमा लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र व्यावसायिक सञ्जाल निर्माणलाई मुख्य विषय बनाइनेछ। साथै, ८० भन्दा बढी महिला उद्यमीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनी गर्नेछन्।
उद्यमीहरूले प्रदर्शनीमार्फत आफ्ना उत्पादन उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसम्म प्रत्यक्ष पुर्याउने अवसर पाउने आयोजकको भनाइ छ।
एकदिने सम्मेलनमा महिला उद्यमशीलतासम्बन्धी तीनवटा विषयगत प्यानल छलफलसमेत हुनेछन्। व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि र निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरू छलफलमा सहभागी हुनेछन्।
प्यानलमा महिला उद्यमीले सामना गरिरहेका व्यावसायिक तथा वित्तीय चुनौती, लगानीमा पहुँच, प्रविधि र डिजिटल बजारको उपयोग तथा व्यवसाय विस्तारका अवसरबारे बहस हुने कांग्रेसले जनाएको छ।









Facebook Comments