
काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको समग्र बजेटमा शिक्षाका लागि छुट्याइने हिस्सा क्रमशः बढाउँदै कम्तीमा २० प्रतिशत पुर्याउनुपर्ने बताएका छन्।
एक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्ने अन्तर्राष्ट्रिय अभ्यास भए पनि नेपालमा अहिले ११ प्रतिशतभन्दा कम बजेट छुट्याइँदै आएको बताए। शिक्षाको बजेट पछिल्ला वर्षमा बढ्दै गएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा पनि थप वृद्धि हुने बताए।
“बेस्ट केस सिनारियोमा त सम्पूर्ण बजेटको २० प्रतिशत शिक्षामा छुट्याउनुपर्छ भन्ने ग्लोबल प्राक्टिस छ। हामी लगभग ११ प्रतिशतभन्दा पनि कम छौँ,” उनले भने।
शिक्षामा विनियोजन भएको बजेटको ठूलो हिस्सा स्थानीय तहमा जाने भएकाले शिक्षा सुधारको मुख्य जिम्मेवारी पनि स्थानीय सरकारको काँधमा रहेको मन्त्री पोखरेलले बताए।
उनका अनुसार शिक्षा क्षेत्रका लागि छुट्याइएको कुल बजेटमध्ये करिब ७० प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा पुग्छ। प्रदेश तहमा भने करिब २ देखि ३ प्रतिशत बजेट जाने र बाँकी रकम संघीय सरकारले विश्वविद्यालयलगायत संघीय तहबाट सञ्चालन हुने कार्यक्रम तथा क्षेत्रमा खर्च गर्ने गरेको उनले जानकारी दिए।
“कुल बजेटको ७० प्रतिशत स्थानीय तहमा अनुदानका रूपमा जाँदै गर्दा अधिकारसँगै सबैभन्दा ठूलो जिम्मेवारी पनि स्थानीय तहमा छ,” पोखरेलले भने।
उनले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारी सहयोगीको पारिश्रमिक व्यवस्थापनमा स्थानीय तहले संघीय अनुदानमा आफ्नो स्रोतसमेत थप गर्नुपर्ने बताए।
संघीय सरकारले उपलब्ध गराउने रकमलाई पूर्ण तलबका रूपमा बुझ्न नहुने स्पष्ट पार्दै उनले उक्त रकम स्थानीय तहका लागि सशर्त अनुदान भएको बताए। संघबाट प्राप्त रकममा स्थानीय स्रोत थप गरी सम्बन्धित कर्मचारीलाई उचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले बजेट व्यवस्था गरिएको उनको भनाइ छ।
पोखरेलका अनुसार विगतमा ईसीडी सहजकर्ता तथा विद्यालय कर्मचारीका लागि १०, १२ र १५ हजार रुपैयाँसम्म अनुदान छुट्याइँदै आएकोमा अहिले उक्त रकम बढाएर १५ देखि २० हजार रुपैयाँसम्म पुर्याइएको छ।
“यो तलबका रूपमा मात्र छुट्याइएको रकम होइन, स्थानीय तहले थप गरेर कर्मचारीलाई दिने उद्देश्यसहितको सशर्त अनुदान हो,” उनले भने।
शिक्षामा संघ, प्रदेश र स्थानीय तहबीच स्रोतसँगै जिम्मेवारीको प्रभावकारी बाँडफाँट हुन सके मात्र लगानीको प्रतिफल बढाउन सकिने मन्त्री पोखरेलको भनाइ थियो।









Facebook Comments