
काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वर्षौँअघि भएका आपराधिक घटनासमेत नेपाल प्रहरीको संस्थागत स्मृतिमा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्तिले समय बित्दैमा उन्मुक्ति नपाउने बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा कार्कीले व्यक्तिगत स्मरण समयसँगै कमजोर भए पनि प्रहरी संगठनले पुराना घटनालाई अभिलेख, अनुसन्धान र संस्थागत अनुभवका रूपमा निरन्तर सुरक्षित राख्ने बताए। उनका अनुसार दशकौँ पुराना घटनामा समेत संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने काम प्रहरीले गर्दै आएको छ।
“व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन् । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,” उनले भने।
यद्यपि, सबै पुराना घटनाको अनुसन्धानमा अपेक्षित सफलता हासिल हुन नसकेको उनले स्वीकार गरे। पुराना घटनाको पुनः अध्ययन, प्रमाणको खोजी र निरन्तर अनुसन्धानमार्फत अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको उनको भनाइ छ।
कार्कीका अनुसार चर्चित तथा गम्भीर प्रकृतिका पुराना घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ। त्यस्ता टोलीको अनुसन्धानबाट केही घटनामा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत पुराना जघन्य अपराधको अनुसन्धानसमेत अघि बढिरहेको उनले जानकारी दिए।
“नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,” कार्कीले भने।
प्रविधिले बदलिँदै सुरक्षा चुनौती
प्रहरी महानिरीक्षक कार्कीले समाज, प्रविधि र अपराधको शैलीमा आएको परिवर्तनसँगै प्रहरीसमक्ष नयाँ सुरक्षा चुनौती थपिएको बताए। परम्परागत अनुसन्धान विधिबाट मात्रै बदलिँदो अपराधको सामना गर्न कठिन हुने भएकाले प्रहरीलाई आधुनिक प्रविधि र अनुसन्धान पद्धतिसँग जोडिँदै लगिएको उनको भनाइ छ।
प्रहरी कर्मचारीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको उनले जानकारी दिए। त्यसबाट कर्मचारीको कामलाई मापन गरी मूल्याङ्कन गर्न तथा कमजोरी सुधार्ने अवसरसमेत प्राप्त हुने उनले बताए।
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई सामान्य कामका लागि प्रहरी कार्यालय धाउनुपर्ने अवस्था घटाउने प्रयास भइरहेको कार्कीले बताए। घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सकिने प्रणाली विकास गरिएको उनले जानकारी दिए।
नेपाल प्रहरीको एपमार्फत विभिन्न सेवा उपलब्ध गराउने व्यवस्था विस्तार हुँदै गएको पनि उनले बताए।









Facebook Comments