
काठमाडौँ — नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा तथा जनजीविका र सामाजिक सद्भावलाई कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच सहकार्य र एकताको आधार बनाउन सकिने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिबीच साझा मुद्दामा सहकार्य आवश्यक रहेको धारणा राखे। उनले त्यसका लागि पाँचवटा आधार प्रस्तुत गरे।
राष्ट्रियता पहिलो आधार
ज्ञवालीले मुलुक कूटनीतिक रूपमा जटिल अवस्थामा पुग्ने जोखिम रहेको भन्दै राष्ट्रियताको संरक्षणलाई कम्युनिस्ट तथा देशभक्त शक्तिहरूबीच सहकार्यको पहिलो आधारका रूपमा अघि सारे। राष्ट्रिय हित र स्वाधीनताको रक्षा गर्ने सवालमा सबै पक्ष एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
संविधानको रक्षा दोस्रो आधार
उनले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए। संविधानमाथि गम्भीर हस्तक्षेप भए त्यसले ठूलो राजनीतिक असन्तोष निम्त्याउन सक्ने भन्दै ज्ञवालीले त्यसबाट उत्पन्न क्षति सरकारले थेग्न नसक्ने चेतावनी दिए।
लोकतन्त्रको संरक्षण तेस्रो आधार
ज्ञवालीले मुलुकमा रहेको खुला राजनीतिक वातावरणलाई संकुचित गर्ने प्रयास भइरहेको दाबी गरे। लोकतान्त्रिक अधिकार र खुला राजनीतिक परिवेशको संरक्षणका लागि पनि कम्युनिस्ट तथा वामपन्थी शक्तिबीच सहकार्यको आवश्यकता रहेको उनले बताए।
जनजीविका चौथो आधार
जनताका दैनिक जीवनसँग जोडिएका समस्या गम्भीर बन्दै गएको ज्ञवालीले बताए। उनले ग्यासको अभावका कारण सहरी उपभोक्ताले भोग्नुपरेको समस्या, सुकुमबासीका सवाललगायत जनजीविकासँग सम्बन्धित विषयलाई राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
‘जनजीविकाका यस्ता मुद्दामा कम्युनिस्टहरू जोडिने होइन भने उनीहरूको उपादेयता के हुन्छ ?’ भन्दै उनले प्रश्न गरे।
सामाजिक सद्भाव पाँचौँ आधार
ज्ञवालीले राजनीतिक दलहरूलाई कमजोर र विस्थापित गर्ने उद्देश्यले समाजलाई जातीय तथा भाषिक द्वन्द्वतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाए। राजनीति कमजोर हुँदा अराजक प्रवृत्तिहरूले स्थान पाउने भन्दै उनले सामाजिक सद्भाव कायम राख्न पनि राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए।
ज्ञवालीले यी साझा मुद्दामा सहकार्य गर्दै अघि बढ्न सके वामपन्थी तथा देशभक्त शक्तिबीचको एकताको आधार निर्माण हुनसक्ने संकेत गरे।









Facebook Comments