काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै दाहालले वर्तमान संकटको सामना गर्न कम्युनिस्ट शक्तिबीच सहकार्य र एकता आवश्यक रहेको बताए।

ad

उनका अनुसार राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई राजनीतिक रूपमा पर्याप्त प्राथमिकता दिन नसक्दा मुलुक असाधारण परिस्थितिमा पुगेको हो। विगतका कमजोरीका लागि एकअर्कालाई दोष दिनुभन्दा राजनीतिक दलहरूले सामूहिक आत्मसमीक्षा गर्नुपर्नेमा उनले जोड दिए।

‘अहिले देश साँच्चै संकटमा छ । राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,’ दाहालले भने, ‘यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो।’

दाहालले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलन कम्युनिस्ट आन्दोलनका अभिन्न पक्ष भएको बताए। उनले मुलुकको वर्तमान अवस्थाबाट निकास खोज्न विभिन्न कम्युनिस्ट दल र शक्तिहरूबीच गम्भीर छलफल, सहकार्य र साझा पहल आवश्यक रहेको धारणा राखे।

उनले कार्यक्रममा सहभागी विभिन्न दलका प्रतिनिधिलाई विगतका अनुभवबाट पाठ सिक्दै आगामी राजनीतिक दिशाबारे गम्भीर चिन्तन र मनन गर्नसमेत आग्रह गरे।