
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरीको स्मृतिमा चार विषयमा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।
प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरीको सम्झना’ कार्यक्रममा थापाले गिरीको अध्ययन, लेखन र दृष्टिकोण निर्माण गर्ने शैलीलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने बताए।
गिरीका लागि अध्ययन केवल सूचना र ज्ञान संकलन गर्ने माध्यम नभएको उल्लेख गर्दै थापाले प्राप्त ज्ञानलाई विश्लेषण गरी आफ्नै दृष्टिकोण निर्माण गर्नु उनको विशेषता रहेको बताए। कांग्रेसको नयाँ पुस्ताका धेरै नेताले गिरीबाट यही शैली सिकेको उनको भनाइ थियो।
‘उहाँलाई पढेर सूचना र ज्ञान प्राप्त हुन्छ। तर त्यो ज्ञानलाई प्रयोग गरेर दृष्टि निर्माण गर्नु सबैभन्दा महत्वपूर्ण कुरा थियो,’ थापाले भने।
गिरी सधैं समाजका सीमान्तकृत, कमजोर र पछाडि पारिएका समुदायको पक्षमा उभिएको पनि थापाले स्मरण गरे। गाउँगाउँमा पुग्दा उनले त्यहाँका सबैभन्दा कमजोर मानिसले राज्य र समाजलाई कसरी अनुभूति गरिरहेका छन् भन्ने आधारमा राजनीतिक तथा सामाजिक अवस्थाको मूल्यांकन गर्ने गरेको थापाको भनाइ थियो।
गिरीको विचार र योगदानलाई संस्थागत गर्दै नयाँ पुस्तामा पुर्याउने उद्देश्यले चार क्षेत्रमा फेलोसिप कार्यक्रम सञ्चालन गरिने थापाले जानकारी दिए। फेलोसिपका विषयमा नेपाली राजनीति, गणतन्त्र तथा संघीयता; समावेशिता तथा सामाजिक न्याय; साहित्य, दर्शन तथा विचारको इतिहास; र युवा नेतृत्व, नागरिक शिक्षा तथा लोकतान्त्रिक नवप्रवर्तन रहेका छन्।
यसैगरी गिरीको व्यक्तित्व र योगदानसँग जोडिएका तीन विशेष विषयमा अध्ययन तथा अनुसन्धान गरिने भएको छ। ‘प्रदीप गिरी र मधेस’, ‘प्रदीप गिरी राजनीति भन्दा पर’ तथा ‘प्रदीप र प्रेम’ शीर्षकमा छुट्टाछुट्टै अध्ययन अघि बढाइने थापाले बताए।
‘प्रदीप गिरी र मधेस’ अन्तर्गत मधेसको अधिकार, पहिचान र राजनीतिप्रति गिरीको दृष्टिकोणबारे अनुसन्धान गरिनेछ। ‘प्रदीप गिरी राजनीति भन्दा पर’ शीर्षकमा उनको दार्शनिक, सांस्कृतिक र साहित्यिक व्यक्तित्वमाथि अध्ययन हुनेछ।
त्यस्तै, ‘प्रदीप र प्रेम’ शीर्षकअन्तर्गत गिरीको निजी जीवन, प्रेम, बस्तीपुर, बनारस तथा उनको व्यक्तिगत जीवनसँग सम्बन्धित विविध पक्षबारे अनुसन्धान गरिने थापाले जानकारी दिए।
फेलोसिप प्राप्त गर्ने अनुसन्धानकर्ताले वार्षिक पारिश्रमिक पाउनेछन्। उनीहरूलाई नेपाली कांग्रेस र प्रदीप गिरी इन्स्टिच्युटका अभिलेखमा पहुँच, सम्पादकीय मार्गदर्शन तथा अनुसन्धान प्रकाशनको अवसरसमेत उपलब्ध गराइनेछ।
फेलोसिपको मुख्य उपलब्धिका रूपमा अनुसन्धानकर्ताले तयार गर्ने पाण्डुलिपिलाई लिइने थापाले बताए। कार्यक्रममार्फत गिरीको अध्ययन, विचार र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै नेपाली राजनीति, सामाजिक न्याय, साहित्य, दर्शन र लोकतान्त्रिक अभ्यासका विषयमा अध्ययन–अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।









Facebook Comments