
विराटनगर — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चा निराधार भएको बताएका छन्। उनले एमालेभित्र कुनै प्रकारको गुटबन्दी वा आन्तरिक विवाद नरहेको दाबी पनि गरे।
शनिबार विराटनगरमा आयोजित ‘मिसन जागरण अभियान २०८३’ अन्तर्गतको महानगरस्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताए। एमाले सचिवालयले गरेको पार्टी पुनर्गठनसम्बन्धी निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरिने उनको भनाइ थियो।
एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको ‘मुलुकको राष्ट्रिय राजनीति र अबको कार्यदिशा’ विषयक प्रशिक्षणमा उनले प्रधानमन्त्री तथा रास्वपाका नेता बालेन्द्र शाहको कार्यशैलीको आलोचना गरे। शाहले संसदीय लोकतन्त्रका मूल्य र मान्यतालाई बेवास्ता गरेको आरोप लगाउँदै पोखरेलले संसद् र संसदीय दलका गतिविधिबाट प्रधानमन्त्री टाढिनु लोकतन्त्रका लागि उचित नभएको बताए।
उनले वर्तमान राजनीतिमा पपुलिजम, अराजकतावाद र अवसरवाद हाबी भएको टिप्पणी गरे। बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता शक्तिले जनतामा भ्रम सिर्जना गरेर तत्काल परिणाम खोजिरहेको भन्दै यस्तो राजनीतिक प्रवृत्तिको प्रभाव पनि लामो समय नरहने उनको दाबी थियो।
पोखरेलले नेपालको वामपन्थी आन्दोलन कमजोर हुँदै रक्षात्मक अवस्थामा पुग्नुको कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। कुनै समय करिब ६० प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने वामपन्थी शक्ति अहिले २२–२३ प्रतिशतमा सीमित हुनु चिन्ताको विषय भएको उनको भनाइ थियो।
एमालेले नाकाबन्दीको सामना गर्ने, नेपालको नयाँ नक्सा जारी गर्ने तथा ठूला पूर्वाधारका आयोजना अघि बढाउनेजस्ता काम गरे पनि अपेक्षित चुनावी परिणाम हासिल गर्न नसकेको उनले स्वीकार गरे। त्यसको मुख्य कारण पार्टीको कार्यशैलीमा रहेको कमजोरी भएको उनको विश्लेषण थियो।
‘हामीले काम त धेरै गर्यौँ, तर जनताको मन पढ्न सकेनौँ,’ पोखरेलले भने, ‘जनतासँग हाम्रो सम्बन्ध औपचारिक मात्र भयो, अनौपचारिक र भावनात्मक बन्न सकेन।’
नयाँ पुस्तासँग एमालेको सम्बन्ध कमजोर भएको पनि उनले स्वीकार गरे। उनका अनुसार एमालेका करिब ७० प्रतिशत कार्यकर्ता ४४ वर्षभन्दा माथिका छन् भने सामाजिक सञ्जालमा सक्रिय युवामध्ये करिब ७० प्रतिशत ४४ वर्षभन्दा कम उमेरका छन्। नयाँ पुस्ताको मनोविज्ञान बुझ्न र उनीहरूलाई पार्टीमा जोड्न एमाले चुकेको उनको भनाइ थियो।
सामाजिक सञ्जालमा प्रभावकारी उपस्थिति बनाउन नसक्दा पार्टीका गतिविधि र योगदान ओझेलमा परेको उनले बताए। फेक न्युज र भाइरल सामग्रीले राजनीतिक धारणा प्रभावित गरिरहेको उल्लेख गर्दै पोखरेलले युवालाई पार्टीमा कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्वसहित जोड्नुपर्नेमा जोड दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीमा वैचारिक स्पष्टताको अभाव रहेको आरोप लगाउँदै उनले पार्टीभित्रै मतभेद देखिन थालेको दाबी गरे। अनुभवको कमी र अवसरवादी राजनीतिक चरित्रले देशलाई स्थायी निकास दिन नसक्ने पोखरेलको भनाइ थियो।
आगामी २०८४ को निर्वाचनमा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित ‘मिसन जागरण’ अभियान अघि बढाइएको उनले बताए। त्यसका लागि घरदैलो र टोलस्तरमा पुगेर जनताका गुनासा तथा सुझाव सुन्ने, संवादमार्फत विश्वास जित्ने र असन्तुष्ट तथा इमानदार कार्यकर्तालाई पुनः सक्रिय बनाउने रणनीति पार्टीले लिएको उनले जानकारी दिए।
त्यसैगरी टोलदेखि प्रदेशसम्मका पार्टी कमिटीलाई सक्रिय र उत्तरदायी बनाउने तथा एमालेसँग आबद्ध २४ जनसंगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने कार्यदिशा तय गरिएको पोखरेलले बताए।
एमालेको पुनर्जागरणका लागि अभियानलाई गम्भीरतापूर्वक अघि बढाउन नेता–कार्यकर्तालाई आग्रह गर्दै उनले निर्वाचनमा भएको पराजयलाई अन्तिम अवस्था नठान्न आग्रह गरे। सडकबाट सरकार परिवर्तन गर्नेभन्दा जनताको विश्वास जितेर बहुमतको सरकार निर्माण गर्ने दिशामा एमाले अघि बढ्नुपर्ने उनको भनाइ थियो।









Facebook Comments