काठमाडौँ — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापाले सोमबार दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन्।

ad

यसअघि मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने तयारीसहित प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। पछि मिति परिवर्तन गर्दै उनले संशोधित पत्र पठाएपछि प्रदेशसभा सचिवालयले भदौ ८ गतेका लागि बैठक बोलाएको हो।

सचिवालयका अनुसार उक्त बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि प्रक्रिया अघि बढाइनेछ। त्यसअघि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मतसम्बन्धी कार्यसूची र प्रक्रियालाई अन्तिम रूप दिइनेछ।

मुख्यमन्त्री थापाले आफ्नो गृह जिल्ला जाने कार्यक्रम रहेकाले तथा अन्य दलको सुझावअनुसार विश्वासको मत लिने मिति परिवर्तन गरिएको बताएका छन्। उनका अनुसार सोमबार प्रदेशसभामा छलफलपछि मत विभाजनको प्रक्रिया अघि बढ्नेछ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि थापाले भदौ ३ गते दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले भदौ ४ गते उनलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।