
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वमा रहेको वर्तमान सरकार आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न नसक्ने दाबी गरेका छन्।
भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेशको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले सरकार गठनको प्रक्रियादेखि नै प्रश्न उठाएका हुन्। उनले जनतालाई त्रासमा पारेर तथा निर्वाचनका मतपेटिकामा हेरफेर गरी बहुमत प्राप्त गरिएको आरोप लगाए।
बहुमत हासिल गरेको आधारमा सरकारले जनतामाथि मनपरी गर्ने अधिकार नपाउने ओलीको भनाइ थियो। सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेको दाबी गर्दै उनले वर्तमान सरकार लामो समय टिक्ने अवस्था नरहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिलाउने मतदाताले अहिले आफ्नो निर्णयप्रति पश्चात्ताप गरिरहेको समेत ओलीले दाबी गरे। सरकारको कथित स्वेच्छाचारिताविरुद्ध नागरिकस्तरबाट प्रतिरोध आवश्यक रहेको उल्लेख गर्दै उनले एमालेका नेता तथा कार्यकर्तालाई त्यसका लागि तयार रहन निर्देशन दिए।
ओलीले वर्तमान सरकारका कारण लोकतन्त्र कमजोर बनेको र संविधानको उल्लङ्घन भइरहेको आरोप लगाए। राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्ने आन्दोलनको नेतृत्व गरेको शक्ति भएकाले आफूहरू कुनै बाह्य शक्तिसँग नडराउने उनको भनाइ थियो।
‘सरकार कुन शक्तिको आडमा चलेको छ भन्ने कुराले हामीलाई फरक पार्दैन,’ ओलीले भने, ‘हामी यस्ता शक्तिसँग डराउँदैनौँ।’
सरकार र त्यसका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आलोचकलाई दबाबमा पार्ने तथा त्रास सिर्जना गर्ने गरेको आरोप पनि ओलीले लगाए। सरकारको आलोचना वा असहमति व्यक्त गर्दा सामाजिक सञ्जालमा गालीगलौज र आक्रमण हुने गरेको उनको दाबी थियो।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा हुने आलोचना र दबाबबाट विचलित नहुन आग्रह गरे। जनजीविका, जनता र सत्यका पक्षमा निर्भीक भएर आवाज उठाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए।
एमाले बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्रको आयोजनामा सुरु भएको दुईदिने कार्यशालामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।









Facebook Comments