
काठमाडौं । सरकारले दुई सचिवको सरुवा गर्दै संघीय प्रशासनतर्फको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशका प्रमुख सचिवसहित दुई सचिवको सरुवा गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा ल्याइएको छ। सञ्चार मन्त्रालयका सचिव डा. कमल पोखरेलले केही दिनअघि पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्रका सचिव विश्वबाबु पुडासैनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवमा सरुवा गरिएको छ।
सरकारले सचिव सरुवासँगै दुवै निकायमा सचिवको दरबन्दीको प्रकृतिसमेत परिवर्तन गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रमा रहेको प्राविधिकतर्फको सचिव पदलाई प्रशासन सेवातर्फ रूपान्तरण गरिएको छ।
यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेको प्रशासनतर्फको सचिव पदलाई प्राविधिकतर्फ परिवर्तन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
दरबन्दीको प्रकृति हेरफेरसँगै सचिवहरूको जिम्मेवारी पुनःव्यवस्थित गरिएको हो। सरकारको पछिल्लो निर्णयले सञ्चार मन्त्रालयको नेतृत्वमा नयाँ सचिव आउने बाटो खुलेको छ भने राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रशासनिक संरचनामा समेत परिवर्तन भएको छ।









Facebook Comments