
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका विभिन्न केन्द्रीय विभागको नेतृत्व टुंगो लगाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले संगठनसहित ६ विभागका प्रमुख मनोनीत गरेको हो।
बैठकबाट संगठन विभाग प्रमुखको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिइएको छ। त्यस्तै, अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्य, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा डाँगीलाई मनोनीत गरिएको छ।
यसैगरी कमल सुवेदीलाई प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ। बैठकले जगदीश खरेललाई पार्टी प्रवक्तासमेत मनोनीत गरेको छ।
नवनियुक्तमध्ये संगठन विभाग र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको नेतृत्वमा नयाँ अनुहार आएका छन्। अन्य विभागमा भने यसअघि पनि जिम्मेवारी सम्हालिसकेका नेताहरूलाई निरन्तरता दिइएको रास्वपाका एक नेताले जानकारी दिए।
लामिछानेनिकट न्यौपानेलाई संगठनको जिम्मेवारी
संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका न्यौपाने पार्टी सभापति रवि लामिछानेसँग नजिक रहेर संगठन निर्माणमा सक्रिय रहँदै आएका नेता हुन्। गत फागुनमा भएको निर्वाचनमा समानुपातिकतर्फको प्राइमरी निर्वाचनमा उनले सर्वाधिक मत प्राप्त गरे पनि अन्ततः टिकट पाउन सकेका थिएनन्।
चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। पार्टीको सांगठनिक संरचनालाई व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारी अब न्यौपानेको काँधमा आएको छ।
त्यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको नेतृत्व पाएका जैरु पनि प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। नागरिकका गुनासा संकलन, सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय तथा राज्यका निकायसँग जोडिएका समस्यालाई पार्टीको राजनीतिक एजेन्डासँग समन्वय गर्ने जिम्मेवारी उक्त विभागको हुनेछ।
रास्वपाको विधानअनुसार पार्टीमा २८ वटा केन्द्रीय विभाग रहने व्यवस्था छ। शुक्रबारको बैठकले तीमध्ये महत्वपूर्ण मानिएका केही विभागको नेतृत्व चयन गरेसँगै बाँकी विभागमा पनि जिम्मेवारी बाँडफाँटको प्रक्रिया अघि बढ्ने नेताहरूले बताएका छन्।
नयाँ जिम्मेवारीसँगै रास्वपाले संगठन विस्तार, आर्थिक नीति, सार्वजनिक सेवा, स्वास्थ्य, पूर्वाधार तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा पार्टीको गतिविधिलाई थप संस्थागत बनाउने तयारी गरेको छ।









Facebook Comments