
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान, निर्णय र संस्थागत मर्यादा उल्लंघन गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाउने भएको छ । विशेषगरी निवर्तमान सभापति शेरबहादुर देउवालाई अझै सभापतिकै हैसियतमा प्रस्तुत गर्ने तथा पार्टीको आधिकारिक संरचनाबाहिर गतिविधि गर्नेहरूप्रति समितिले निगरानी बढाएको हो ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले पार्टीभित्र देखिएका अनुशासन उल्लंघनका घटनामाथि छानबिन तीव्र बनाउने निर्णय गरेको छ । बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको विधि र मर्यादा उल्लंघन गर्ने जोसुकै भए पनि विधानअनुसार कारबाही हुने बताए ।
उनका अनुसार गत आमनिर्वाचनका क्रममा पार्टी निर्णयविपरीत गतिविधि गरेको, अन्तर्घात गरेको तथा अनुशासन उल्लंघन गरेको आरोपसहित विभिन्न जिल्लाबाट ७५४ वटा उजुरी समितिमा परेका छन् । तीमध्ये अधिकांश उजुरी छानबिनको अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए ।
समितिले कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्नुअघि नै अनुशासनसम्बन्धी सबै उजुरी टुंग्याउने तयारी गरेको छ । वडा अधिवेशन सुरु हुनुअघि नै विवादित विषयको निरुपण गरी पार्टीलाई अनुशासित र व्यवस्थित बनाउने लक्ष्य रहेको गुरुङको भनाइ छ ।
देउवालाई ‘सभापति’ लेखिएको नेमप्लेटमा आपत्ति
अनुशासन समितिले हालै डा. शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको एउटा भेलालाई पनि चासोको विषय बनाएको छ । उक्त कार्यक्रममा निवर्तमान सभापति देउवालाई ‘सभापति’कै हैसियतमा प्रस्तुत गर्दै नेमप्लेट राखिएको विषयमा समितिले प्रश्न उठाएको हो ।
गुरुङका अनुसार कांग्रेसको वर्तमान आधिकारिक नेतृत्व गगन थापाको नेतृत्वमा रहेको अवस्थामा निवर्तमान सभापतिलाई वर्तमान सभापतिकै रूपमा प्रस्तुत गर्नु पार्टीको विधान र संस्थागत अभ्याससँग मेल खाँदैन । उक्त कार्यक्रममा पार्टीको आधिकारिक संरचनाबाहिर लेटरप्याड प्रयोग भएको विषयलाई समेत समितिले छानबिनको दायरामा राखेको छ ।
भेलामा को–को सहभागी थिए, उनीहरूले के–कस्ता अभिव्यक्ति दिए र पार्टीको आधिकारिक निर्णयविरुद्ध कुनै गतिविधि भए–नभएको विवरण संकलन भइरहेको गुरुङले बताए । पार्टीको प्रतिष्ठा र नेतृत्वको मर्यादामा असर पार्ने गतिविधिमा संलग्न देखिए सम्बन्धित व्यक्तिमाथि विधानअनुसार प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
यद्यपि पार्टीभित्र राजनीतिक छलफल वा विचार आदानप्रदानका लागि हुने भेलालाई मात्र आधार बनाएर कारबाही नगरिने समितिले स्पष्ट पारेको छ । त्यस्ता भेला पार्टीको हितमा छन् वा पार्टीको आधिकारिक संरचनाविरुद्ध परिचालित छन् भन्ने आधारमा गतिविधिको मूल्यांकन गरिने गुरुङले बताए ।
निर्वाचनका उजुरी टुंग्याउने दबाब
अनुशासन समितिको अहिलेको मुख्य प्राथमिकता भने निर्वाचनसँग सम्बन्धित ७५४ उजुरीको टुंगो लगाउनु बनेको छ । विभिन्न जिल्लाबाट आएका उजुरीमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको, पार्टी निर्णय नमानेको तथा संगठनात्मक अनुशासन उल्लंघन गरेको लगायतका आरोप छन् ।
समितिले उजुरीमाथि प्रमाण र तथ्यका आधारमा निर्णय गर्ने जनाएको छ । संयोजक गुरुङले समितिको निर्णय पार्टी कार्यकर्ता र आम जनताले समेत न्यायोचित ठान्ने गरी गरिने दाबी गरे ।
अनुशासन समितिले आफ्नो काम पार्टी विधानको धारा १७(२) अनुसार भइरहेको जनाएको छ । विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आफ्नो आधिकारिकता स्थापित भएको दाबी गर्दै समितिले पार्टीको आन्तरिक अनुशासनमा कुनै सम्झौता नगर्ने संकेत गरेको छ ।
कांग्रेसमा पूर्व र वर्तमान नेतृत्वबीच राजनीतिक दूरी बढिरहेका बेला अनुशासन समितिको पछिल्लो सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ । देउवा पक्षसँग जोडिएका गतिविधि, पार्टीको आधिकारिक नेतृत्वबाहिर हुने भेला तथा निर्वाचनकालीन अनुशासन उल्लंघनका विषयमा हुने निर्णयले कांग्रेसभित्रको आगामी शक्ति संघर्षलाई समेत प्रभावित पार्न सक्ने देखिन्छ ।









Facebook Comments