काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसभित्रको विवाद सडक वा अदालतबाट नभई राजनीतिक संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

आज सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै उनले असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आफ्ना फरक मतसहित पार्टी केन्द्रीय कार्यालय सानेपा आउनसमेत आग्रह गरेका छन्। महामन्त्री पौडेलले पार्टीभित्र देखिएको विवाद र असन्तुष्टिलाई संवादमार्फत समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न समेत नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । मुलुक चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाली कांग्रेस आफैं सजग, सुदृढ र एकताबद्ध हुनुपर्ने अपिलमा उनले उल्लेख गरेका छन् । उनले पार्टीभित्रको बेमेल र असन्तुष्टिले कांग्रेसलाई कमजोर बनाउने र त्यसको असर लोकतन्त्र तथा मुलुकमै पर्ने चेतावनी दिएका छन्।

ad

गत भदौ २३ र २४ गतेका घटनाक्रम तथा त्यसपछि सिर्जित परिस्थितिले देश कठिन मोडमा पुगेको उल्लेख गर्दै पौडेलले युवाहरूले व्यक्त गर्न खोजेको असन्तुष्टि विभिन्न परिस्थिति र चलखेलका कारण अप्रत्याशित रूपमा गम्भीर बनेको उल्लेख गरेका छन्।

“हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन,” पौडेलले भनेका छन्, “नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ।”

उनले विगतका कमजोरीमा सबैको सामूहिक जिम्मेवारी रहेको स्वीकार गर्दै सानेपामा बसेर मनैदेखि संवाद गर्न आग्रह गरेका छन्। साथै, आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले सुम्पिएको नेतृत्वलाई स्वीकार गर्दै लोकतन्त्र सुदृढीकरणको बाटोमा एकजुट भएर लाग्नुपर्ने उनले बताएका छन्।

पौडेलले वर्तमान सरकारलाई प्रभावकारी खबरदारी गर्न पनि कांग्रेस एकताबद्ध र सक्रिय हुनुपर्ने बताए । पार्टीभित्रको विवादमा अल्झिँदा देशले सही नेतृत्व नपाउने भन्दै उनले सबै मतभेदलाई थाती राखेर कांग्रेसको मूल प्रवाहमा गोलबद्ध हुन आग्रह गरेका छन्।

“त्यसैले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिँड्न विनाशर्त सानेपा आउन म हार्दिक अपिल गर्दछु,” उनले भनेका छन्।