
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवासहित लामो समय पार्टी र राज्यसत्ताको नेतृत्वमा रहेका नेताप्रति कटाक्ष गर्दै राजनीतिक पद र शक्तिप्रतिको निरन्तर आकांक्षाले असन्तुष्टि बढाउने बताएका छन् ।
नन्दप्रसाद–जानुका फाउण्डेसनले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले निर्वाचनमा बहुमत वा दुईतिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सधैँ कायम रहने भ्रम त्याग्नुपर्ने बताए । लोकतन्त्रमा राजनीतिक शक्तिको मूल्यांकन निर्वाचनको अंकगणितसँगै नागरिकको विश्वास र स्वीकार्यताबाट हुने उनको भनाइ थियो ।
थापाले पाँचपटक प्रधानमन्त्री भइसकेको व्यक्ति फेरि प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट हुने र दुईपटक पार्टी सभापति भइसकेको व्यक्ति तेस्रोपटक नेतृत्वमा पुग्न नपाउँदा असन्तुष्टि जनाउने प्रवृत्तितर्फ संकेत गर्दै राजनीतिक महत्वाकांक्षाको सीमा नहुँदा समस्या उत्पन्न हुने बताए ।
उनले तत्कालीन कांग्रेस नेतृत्व तथा त्यसबेलाका सत्तारूढ नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग आफूले पटक–पटक राजनीतिक परिस्थिति र नागरिकमा बढ्दै गएको असन्तुष्टिबारे कुरा गरेको स्मरण गरे । आफूहरूले औँल्याएका समस्या र दिएका सुझावलाई नेतृत्वले अपेक्षित गम्भीरताका साथ नलिएको उनको दाबी थियो ।
त्यसको राजनीतिक परिणामबाट आफूहरू पनि प्रभावित भएको उल्लेख गर्दै थापाले चुनावमा प्राप्त ठूलो संख्यालाई जनताको स्थायी समर्थनका रूपमा बुझ्न नहुने बताए । उनका अनुसार लोकतन्त्रमा निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि त्यसपछि जनताको विश्वास कायम राख्न राजनीतिक नेतृत्वको आचरण र कार्यसम्पादन निर्णायक हुन्छ ।
‘डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन’
थापाले कानुनी वैधता र राजनीतिक तथा सामाजिक स्वीकार्यताबीच फरक रहेको धारणा राखे । कुनै निर्णय कानुनअनुसार भएको भए पनि त्यसले नागरिक र समाजको विश्वास जित्न सकेन भने त्यसको औचित्यमाथि प्रश्न उठ्न सक्ने उनले बताए ।
“डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन । नागरिकले मान्छन् कि मान्दैनन्, समाजले पत्याउँछ कि पत्याउँदैन भन्ने पनि हेर्नुपर्छ,” उनले भने ।
राजनीतिक दलहरूमा मन्त्री, सांसद, मेयर वा पार्टी सभापति जस्ता पद प्राप्तिलाई मात्र सफलताको मापदण्ड बनाउने प्रवृत्ति बढेको भन्दै थापाले त्यसले संगठनभित्र असन्तुष्टि उत्पादन गर्ने अवस्था सिर्जना गरेको टिप्पणी गरे ।
उनका अनुसार राजनीतिक जीवनमा पद नपाउँदा असफल भएको महसुस गर्ने संस्कारले नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धलाई कमजोर बनाउँछ । लोकतन्त्रमा पदभन्दा राजनीतिक योगदान, जनविश्वास र जिम्मेवारी महत्वपूर्ण हुनुपर्ने उनले बताए ।
अदालतका निर्णयमा ‘सामाजिक वैधता’ पनि आवश्यक
थापाले कांग्रेसको विशेष महाधिवेशन र पार्टीको आन्तरिक वैधानिकतासँग जोडिएका विवादमा सर्वोच्च अदालतबाट भएका केही निर्णय पुनरावलोकन हुनुपर्ने धारणा पनि राखे ।
उनले अदालतले गर्ने निर्णय कानुनी रूपमा वैध भए पनि त्यसको सामाजिक र राजनीतिक स्वीकार्यताको प्रश्नसमेत महत्वपूर्ण हुने बताए । उनका अनुसार राज्यका कुनै पनि संस्थाबाट हुने निर्णय केवल कानुनी प्रक्रियामा सीमित नभई त्यसले समाजमा कस्तो विश्वास र स्वीकार्यता निर्माण गर्छ भन्ने कोणबाट पनि मूल्यांकन गरिनुपर्छ ।
थापाको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व, पदको आकांक्षा, महाधिवेशन र पार्टीको वैधानिकतासँग जोडिएको बहसलाई थप राजनीतिक अर्थ दिएको छ ।








Facebook Comments