काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) का किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै राप्रपाले थापामाथि कारबाही गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार पार्टीको निर्णय उल्लंघन गर्दै थापाले एमालेका किरण थापा मगरलाई समर्थन रहेको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएका थिए । पार्टीले यस विषयमा थापालाई स्पष्टीकरण सोधेको थियो । तर, निर्धारित समयमा स्पष्टीकरण नदिएको र एमाले उम्मेदवारलाई दिएको समर्थनसमेत फिर्ता नलिएपछि कारबाही गरिएको लिङ्देनले बताएका छन् ।

ad

लिङ्देनले पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्यको हैसियतबाट समेत थापालाई हटाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीको औपचारिक आग्रहबिना नै एमालेले राप्रपाका प्रदेशसभा सदस्यहरूलाई प्रभावित पार्ने प्रयास गरेको थियो ।

राप्रपा अध्यक्ष लिङ्देनले संसदीय दलका नेतालाई कारबाही गरिसकिएको भन्दै अब पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने अन्य सदस्यलाई समेत कारबाही गरिने चेतावनी दिएका छन् ।

यता, राप्रपाको उक्त निर्णयमा पार्टीका नेता कमल थापाले भने असहमति जनाएका छन् । उनले निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । यससँगै उद्धव थापामाथिको कारबाहीलाई लिएर राप्रपाभित्रै मतभेद देखिएको छ ।

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियासँगै एमालेका किरण थापा मगरलाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद उत्पन्न भएको थियो । पार्टी नेतृत्वले कुनै पनि निर्णय वा सहमति गर्दा संस्थागत निर्णयको पालना गर्नुपर्ने अडान लिँदै आएको छ भने प्रदेशसभामा पार्टीका केही सदस्यहरूको भूमिकालाई लिएर पछिल्लो घटनाक्रमले थप राजनीतिक तनाव सिर्जना गरेको छ ।