
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका कुनै पनि निकायले गरेका निर्णय कानुनी रूपमा सही हुनुका साथै जनताको दृष्टिमा समेत औचित्यपूर्ण र स्वीकार्य देखिनुपर्ने बताएका छन्।
नन्दप्रसाद–जानुका फाउण्डेशनले बिहीबार काठमाडौंमा आयोजना गरेको दोलखाका लोकनायकहरू पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले सरकार, संसद्, अदालत र संवैधानिक निकायका निर्णय केवल कानुनी आधारमा मात्र स्थापित नहुने धारणा राखे। उनका अनुसार ती निर्णयको औचित्य जनताले पनि महसुस र स्वीकार गर्न सक्ने हुनुपर्छ।
थापाले पछिल्लो समय निर्वाचन जितेर संसद् पुगेका सांसदमा दम्भ देखिन थालेको भन्दै जनप्रतिनिधिले यस्तो प्रवृत्ति त्याग्नुपर्ने बताए। निर्वाचन जित्दैमा आफूले जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने सोच गलत भएको उनको भनाइ थियो।
संसद्को शून्य समयमा बोल्ने अवसर छोटो भए पनि सांसदले त्यसलाई हल्का रूपमा लिन नहुने थापाले बताए। एक मिनेटको समयमै बोल्दा पनि विषयवस्तुको गम्भीर तयारी, सचेतता र जिम्मेवारीका साथ शब्द चयन गर्नुपर्ने उनले जोड दिए।
उनले विगतमा कांग्रेस–एमाले गठबन्धन तथा तत्कालीन नेकपाले प्राप्त गरेको दुईतिहाइ बहुमतको शक्ति जनअसन्तुष्टिका कारण कसरी कमजोर हुँदै गयो भन्नेबाट अहिलेका राजनीतिक दलले पाठ सिक्नुपर्ने बताए। जनताको विश्वास गुमेपछि ठूलो राजनीतिक शक्ति पनि टिक्न नसक्ने उनको भनाइ थियो।
नयाँ राजनीतिक दल र शक्तिहरूले विगतका दलका कमजोरीबाट सिक्दै आफ्ना त्रुटि सुधार गरेर अघि बढ्नुपर्ने थापाले बताए। मुलुकले अब थप कुनै राजनीतिक दुस्साहस धान्न नसक्ने उल्लेख गर्दै उनले आगामी पाँच वर्षको कार्यकाललाई रचनात्मक, जिम्मेवार र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।








Facebook Comments