
काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई दिइँदै आएको संघीय अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको पारिश्रमिक अनुदान बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
शिक्षण सहयोग अनुदानका शिक्षकको तलब पनि बढ्ने
मन्त्रिपरिषद्ले शिक्षण सहयोग अनुदानअन्तर्गत कार्यरत शिक्षकको पारिश्रमिकसमेत बढाउने निर्णय गरेको छ।
माध्यमिक तहमा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहका शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।
त्रिभुवन विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारका लागि जापानी अनुदान
बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल प्रणाली सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै, सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
कमलप्रसाद भट्टराई सचिवमा बढुवा
मन्त्रिपरिषद्ले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ।
भट्टराईलाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवका रूपमा पदस्थापन गर्ने निर्णयसमेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए।
संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डल जाने
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय पनि बैठकले गरेको छ।
यसका लागि नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरिएको हो।
साउदीसँग हवाई सेवा सम्झौताको बाटो खुल्यो
नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
सम्झौता भएपछि दुई देशबीचको हवाई सम्पर्क तथा उडानसम्बन्धी सहकार्यलाई थप व्यवस्थित गर्ने आधार तयार हुनेछ।
दुई संशोधन विधेयक संसद्मा लैजाने निर्णय
बैठकले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ संशोधन विधेयक र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
सरकारका प्रवक्ता पोखरेलका अनुसार यी विधेयकलाई अब संसद्को प्रक्रियामा अघि बढाइनेछ।









Facebook Comments