
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको राजनीतिक शक्तिलाई तीन ‘ए’-आर्मी, अल्गोरिदम र अमेरिका-सँग जोडेर टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै बादलले वर्तमान सरकार यही तीन शक्तिको आधारमा बनेको दाबी गरे। उनले भने, ‘यो सरकारको शक्तिको स्रोत तीन ए अर्थात् आर्मी, अल्गोरिदम र अमेरिका हो।’
बादलले सरकार निर्माणमा प्रभावशाली देखिएका शक्तिहरूको प्रभाव पछिल्लो समय घट्दै गएको दाबी गरे। सरकारका पछिल्ला गतिविधि जनविरोधी बन्दै गएको उनको आरोप थियो।
उनका अनुसार लोकप्रियतावाद, सामाजिक सञ्जालको प्रभाव र अवसरवादमा आधारित राजनीतिक शक्ति क्रमशः कमजोर हुँदै गएको छ।
बादलले प्रधानमन्त्री शाहको राजनीतिक प्रभाव घट्दै गएको दाबी गर्दै ‘पपुलिज्मको नशा’ र ‘अल्गोरिदमको जादू’ अब पहिलेजस्तो प्रभावकारी नरहेको टिप्पणी गरे।
उनले भने, ‘अब पपुलिज्मको नशा, अल्गोरिदमको जादू, अपर्चुनिज्मको भ्रम र तीन ए को शक्ति क्रमशः क्षीण हुँदै गएको छ।’
सरकारको प्रभाव र शक्ति कमजोर हुँदै गएको दाबी गर्दै बादलले प्रधानमन्त्री शाहले आफूलाई राजनीतिक रूपमा एक्लो महसुस गर्न थालेको टिप्पणी गरे।
उनका अनुसार सरकारको नेतृत्वमा रहेका शाहमा पछिल्लो समय बढ्दो राजनीतिक दबाब र एक्लोपनको अवस्था देखिन थालेको छ।
बादलले भने, ‘यो सरकारको मुखियाले आफू नितान्त एक्लो भएको छटपटी महसुस गरिरहेको छ।’









Facebook Comments