काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्ने तयारी नरहेको स्पष्ट पारेका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्री र मन्त्रालयका कामकारबाहीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताए। तर त्यस्ता प्रश्नलाई आधार बनाएर मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको उनको भनाइ छ।

ad

लामिछानेले मन्त्रीहरूले गरेका सबै कामप्रति प्रश्नविहीन अवस्था हुन नसक्ने बताए। एउटै मन्त्रालय वा मन्त्रीले गरेका धेरै काममध्ये केही विषयमा प्रश्न उठ्नु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो।

रास्वपाभित्रै पनि मन्त्रीका कामबारे प्रश्न गर्ने र आन्तरिक रूपमा छलफल गर्ने अभ्यास रहेको उनले बताए।

लामिछानेले मन्त्री परिवर्तनका विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको दाबी गरे। उनले भने, ‘मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन।’

यसअघि विभिन्न मन्त्रीका कामकारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि रहेको चर्चा भइरहेका बेला लामिछानेको यस्तो भनाइ आएको हो।

लामिछानेले बुधबार भएको सांसदहरूको छलफललाई रास्वपा संसदीय दलको औपचारिक बैठक नभएको स्पष्ट पारे।

उनका अनुसार सभापतिले सांसदहरूसँग गर्ने आन्तरिक छलफलका रूपमा उक्त कार्यक्रम आयोजना गरिएको हो। संसदीय दलको औपचारिक बैठक भने पछि बस्ने उनले बताए।

छलफलमा संसद्मा पार्टीका सांसदले कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत कुराकानी भएको लामिछानेले जानकारी दिए।

उनका अनुसार संसद्मा मर्यादित रूपमा प्रस्तुत हुने र आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा सांसदहरूबीच छलफल भएको छ।

लामिछानेले संसद्मा उठाइने विषय र पार्टीको प्रस्तुतिलाई लिएर साझा बुझाइ बनाएर अघि बढ्ने विषयमा छलफल केन्द्रित रहेको बताए।