
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले जेनजी आन्दोलनका क्रममा भएका संवेदनशील घटनाहरूलाई ओझेलमा पार्ने काम भएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएकी छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै पन्तले भदौ २४ गते भएका घटनाहरूको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न र निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिन् ।
सांसद पन्तले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका घटनाहरूप्रति संसदको ध्यानाकर्षण गराउँदै सरकारले सुरुमा तयार पारेको प्रारम्भिक प्रतिवेदन अपूर्ण रहेको बताइन् । भदौ २३ गतेका घटनाहरूलाई प्रारम्भिक प्रतिवेदनमा समेटिए तापनि २४ गतेका अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील गतिविधिहरूलाई भने अहिलेसम्म प्रतिवेदन बाहिरै राखिएकोमा उनको आपत्ति थियो ।
सरकारले २४ गतेका घटनाहरूको थप खोजी र छानबिन गरी यथार्थ विवरण संसद र जनतासमक्ष पेश गर्ने प्रतिबद्धता जनाए पनि लामो समय बितिसक्दा समेत कुनै यथार्थ र स्पष्ट विवरण सार्वजनिक नगरेको उनको भनाइ छ ।
संसदमा पन्तले भनिन्, ‘महत्वपूर्ण घटनाहरूलाई यसरी ओझेलमा पार्ने वा आलटाल गर्ने कार्यले नागरिकमाझ सरकारको नियतमाथि प्रश्न उठेको छ । तसर्थ, २४ गतेका घटनाहरूसहित सम्पूर्ण विषयको सत्यतथ्य छानबिन गरी सर्वसाधारण र संसदसमक्ष यथार्थ विवरण प्रस्तुत गर्नका लागि शीघ्रातिशीघ्र एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न म यस गरिमामय सभामार्फत सरकारसँग जोडदार माग गर्दछु ।’









Facebook Comments