काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभामा लामो समयदेखि अनुपस्थित रहँदै आएका देउवालाई सभामुख भीमबहादुर भण्डारीले मंगलबार पदमुक्त गर्ने निर्णय गरेका हुन्।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बिना जानकारी लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेपछि संविधानको धारा १८० को खण्ड (घ) बमोजिम देउवाको प्रदेशसभा सदस्य पद रिक्त हुने निर्णय गरिएको हो।

ad

सचिवालयका अनुसार देउवा पछिल्लो ११ महिनादेखि अमेरिकामा छन्। यस अवधिमा उनी प्रदेशसभाका लगातार २७ वटा बैठकमा अनुपस्थित रहेको जनाइएको छ।

प्रदेशसभा सदस्य लामो समयसम्म बैठकमा अनुपस्थित रहेमा संवैधानिक व्यवस्थाअनुसार पद रिक्त हुने प्रावधान छ। सोही व्यवस्थालाई आधार बनाएर सभामुख भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।